• १४ असार २०८१, शुक्रबार

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल

blog

काठमाडौँ, भदौ १९ गते । आबाल ब्रह्मचारी षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गरिएको छ। उहाँले १८९२ सालमा भोजपुरको दिङ्लामा जन्मेर राणाकालीन समयमा (१९३२ साल)मा शिक्षाको ज्योति फैलाउन पाठशाला स्थापना गर्नुभएको थियो। 

उहाँले नेपालमा नै जनस्तरमा पहिलो विद्यालय खोली त्यसको सञ्चालनका लागि स्थायी आम्दानीका लागि गुठीसमेतको स्थापना गरी उल्लेखनीय योगदान गर्नुभएको थियो। यसबाहेक समाज सुधारका लागि पनि उहाँको उल्लेख्य योगदान रहेका आधारमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौँले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल थालेको हो।

प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाणसमक्ष त्यस्तो माग गरेको जानकारी शनिबार आयोजित प्रतिष्ठानको पन्ध्रौँ वार्षिक साधारण सभामा दिइयो। 

प्रतिष्ठानका सचिव प्रा. डा. बद्रीविशाल भट्टराईले षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न आधारसहितको प्रस्ताव पठाइएको जानकारी दिनुभयो।