• १२ असोज २०८१, शनिबार

युवाहरु बुथको रक्षक हुनुस् : अध्यक्ष ओली

blog

कमल गाउँपालिकामा युवामाझ अध्यक्ष ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, भदौ १८ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा युवाहरुलाई दर्शकको रुपमा नभइ बुथको रक्षकको भूमिका खेल्न आग्रह गर्नुभएको छ । 

जनताको मताधिकारको सुरक्षासहित सहज रुपमा मतदान गर्ने अवस्था सिर्जना गर्न हरेक बुथहरुमा रक्षकको भूमिका निर्वाह गर्ने तवरले तयारी रहन उहाँले निर्देशन दिनुभयो । गृह जिल्ला झापामा दूई दिनदेखि बिभिन्न कार्यक्रममा सहभागी रहनु भएका ओलीले राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटीले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै सो आग्रह गर्नुभयो । जनताको मताधिकारको सुरक्षा गर्ने दायित्व युवाहरुको काँधमा रहेको भन्दै निर्वाचनमा दर्शकको भुमिका निर्वाह नगर्न आग्रह गर्नुभयो । 

‘एमालेले मंसिर ४ को निर्वाचन हार्दा देशले हार्छ’ अध्यक्ष ओलीले भन्नुभयो, “जसरी पनि जित्ने तयारी गर्नुस्, एमालेलाई यो चुनाव हार्ने छुट छैन ।” सत्ताको दुरुपयोग र धाँधली हुनसक्ने आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले  चनाखो रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । 

आफ्नो मतधिकारको सुरक्षा गर्दै सबै मतदाताको मतदानको अधिकार सुनिश्चित गर्दै शान्तिपुर्ण रुपमा जनताले मतदान गर्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो । सभ्य र शालिन भएर मतदातालाई मत हाल्न अभिप्रेरित गर्न उहाँले आग्रह गर्नुभयो ।

पछिल्लो समय राजनीतिक दल र नेताहरुप्रति वितृष्णा पैदा गर्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले थप्नुभयो, “ कुनै एउटा नेता खराब भयो भन्दैमा सबै नेता र राजनीतिक दल खराब हुन्छन् भन्ने होइन, जनतालाई बुझाउनुपर्छ ।”