• १३ साउन २०८१, आइतबार

हेलम्बु–मेलम्ची बाढीको प्रभाव

विद्यालय आउन अझै डराउँछन् बालबालिका

blog

मेलम्ची ६ स्थित तेर्से मावि । तस्बिर: सन्तोष सिक्देल

मेलम्ची, भदौ १८ गते । बाढीपहिरोले अति जोखिमयुक्त जिल्लामध्येको जिल्ला हो सिन्धुपाल्चोक । गत वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा धनजनको अकल्पनीय क्षति पुगेको छ । कयौँ अझै बेपत्ता छन् ।

बाढीपहिरोबाट शैक्षिक क्षेत्र पनि अछुतो रहेन । बाढीकै कारण हेलम्बु गाउँपालिका–४ मा रहेको इस्ट पोइन्ट एकेडेमीको नामोनिसान नै छैन । भूकम्पमा परी तहसनहस भएको ग्लालथुम बजारस्थित ‘हेलम्बु एपेक्स’ विद्यालय पुनर्निर्माण गरी उद्घाटन गरेको तेस्रो वर्षमा नै बाढीले पूर्ण रूपमा क्षति बनायो । हाल पुनः टहरामा भए पनि विद्यालय सञ्चालन गरिएको छ । अभिभावकको सहयोगले नै विद्यालय आज यहाँसम्म आउन सकेको प्रधानाध्यापक दामोदर भारतीले बताउनुभयो । 

खोलामा पानीको बहाव बढ्ने बित्तिकै शिक्षक, विद्यार्थी र अभिभावकमा त्रास उत्पन्न हुने मेलम्ची–६ स्थित तेर्से माविका प्रधानाध्यापक कृष्ण ढुङ्गानाले बताउनुभयो । “राति ठूलो पानी परेपछि सधैँ मनमा त्रास हुन्छ । यस पटक पनि जोखिम टरेको छैन । बालबालिका पानी परेपछि विद्यालय आउन डराउँछन् । अभिभावक पनि बालबालिका घरमा नपुग्दासम्म त्रासमा नै हुन्छन्,” उहाँले भन्नुभयो । 

दुई खोलाको दोभानमा रहेको तेर्से माविमा अघिल्लो वर्ष बाढी जाने बित्तिकै जाली तथा पर्खाल लगाउने काम गरिएको थियो । मेलम्ची खोलाको मुहानस्थल भेमाथाङबाट भीमकाय बाढी आएर हेलम्बु र मेलम्ची बगाएको एक वर्षभन्दा बढी भइसकेको छ तर त्रास उस्तै छ । हेलम्बु गाउँपालिका–४ मा रहेको मेलम्ची भ्याली क्याम्पसको संरक्षणका लागि बागमती प्रदेश सरकारको सहयोगमा २८ लाख रुपियाँ बराबरको ‘ग्याबिन वाल’ लगाइएको छ । यो वर्ष त जोखिम ट¥यो, क्याम्पस सञ्चालन समितिका अध्यक्ष दीपक लामिछानेले भन्नुभयो । 

उहाँका अनुसार ठूलो वर्षा भएको बेलामा विद्यार्थी क्याम्पसमा आउन अझै डराउने गरेका छन् । तेर्से माध्यमिक विद्यालय बाढीले जोखिममा परेपछि संरक्षणका लागि पालिकाले ५० लाख रुपियाँ सहयोग गरेको थियो । जल उत्पन्न प्रकोप व्यवस्थापन महाशाखाको ४७ लाख रुपियाँको लागतमा विद्यालय संरक्षण गर्न सिमेन्टेड तथा जालीको पर्खाल लगाएको छ ।

Author

सन्तोष सिक्देल