• १३ साउन २०८१, आइतबार

प्रत्येक वडामा सम्पदा संरक्षणलाई २० लाख बजेट

पोखरीको नगर भक्तपुर (फोटो कथा)

blog

भक्तपुर बसपार्कसँगैको नःपुखु । तस्बिर : मनोजरत्न शाही

भक्तपुर, भदौ १७ गते । भक्तपुर नेपालको सानो जिल्ला। त्यही जिल्लाको सानो नगरपालिका ‘भक्तपुर’। तर,  विश्व मानचित्रमा यसको पहिचान ठूलो छ। काष्ठकला, दरबार क्षेत्र, अद्वितीय ५५ झ्याले दरबार, हातले बनाइने माटाका भाँडा र जुजु धौले भक्तपुर प्रख्यात छ। पर्यटकले पाइलापालामा देख्ने गोरेटो र गल्लीमा छापिएका इँटाको महत्त्व छुट्टै छ। भूगोलले सानो भए पनि भक्तपुर नगर कला, संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण छ। 

६.८८९ वर्ग किलोमिटरमा फैलिएको भक्तपुर नगरका हरेक बस्ती र टोलमा पोखरी छन्। ५० बढी पोखरी रहेको भक्तपुरमा अहिले ३४ वटा संरक्षित छन्।

‘पहिला ५० भन्दा बढी पोखरी भक्तपुर नगरभित्र थिए’, स्थानीय ६५ वर्षीय राजकुमार ब्वय्जु भन्नुहुन्छ, ‘समय बित्दै जाँदा संरक्षणको कमीले यहाँका केही पोखरी खेल मैदानमा परिणत भएका छन्। केही पुरिएको अवस्थामा छन्।’ 


भक्तपुरको चर्चित ६ सिद्ध पोखरी । 

नःपुखु (पोखरी) परिसरमा चिया पसल चलाउने उहाँका अनुसार यहाँका पोखरीको छुट्टै महत्त्व छ। ‘हामी सानो हुँदा त्यस पोखरी नजिकै म्ये गाः (राँगा पाल्ने ठाउँ) थियो। दिनभर खेती र पशुपालनमा व्यस्त किसान साँझ घर फर्कनु अगाडि पोखरीमा औजार पखाल्ने र हात गोडा धुने गर्थे’, उहाँ पुराना दिन सम्झँदै भन्नुहुन्छ, ‘समय फेरिएको छ। संरक्षित पोखरी अहिले पर्यटकको रोजाइमा परेको छ।’ 

भोलाछेँ पुखुको किंवदन्ती

भक्तपुर नगरपालिका ६ का स्थानीय ७५ वर्षीय काजीबहादुर अवाल भोलाछेँ पुखु (पोखरी)बारे छुट्टै किंवदन्ती सुनाउनुहुन्छ। यो पोखरी “भौँ र छुँ”  (बिरालो र मुसा) झगडा गर्दागर्दै बनेको उहाँ बताउनुहुन्छ।   

इतिहास बोकेका यस्ता पोखरीको संरक्षणमा भक्तपुर नगरपालिका लागि परेको छ। नगरपालिकाले अहिले विभिन्न अतिक्रमणबाट खेल मैदान बनेका पोखरी र व्यक्तिको स्वामित्वमा पुगेका सार्वजनिक सम्पदालाई पुरानै स्वरूपमा निर्माण गर्ने तदारुकता देखाएको छ। नगरपालिकाले न्हु पुखु (रानी पुखु) को पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ। २०७६ साल असारमा नेपाली सेनाले ऐतिहासिक न्हु पुख (रानी पोखरी)को पुनः निर्माण र संरक्षणका लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले पुन: निर्माणको काम सम्पन्न गरेर २०७८ साल फागुनदेखि पोखरी सर्वसाधारणको लागि खुला गरेको छ। भक्तपुर नगरलाई हस्तान्तरण गर्नु पूर्व नेपाली सेनाको नियन्त्रणमा रहेको न्हु पुखु वर्षमा एक दिन भक्तपुरका प्रजापति समुदायको देवालीमा मात्र खुला हुन्थ्यो।

भक्तपुर नगरपालिका वडा नम्बर ६ को भोलाछेँ पुखु ।

प्रत्येक वडामा सम्पदा संरक्षणलाई २० लाख बजेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार नगरपालिकाले पोखरी संरक्षण र पुनर्माणको काम गरिराखेको छ। रानी पोखरीपछि नगरपालिकाले जेला पुखु, भोलाछेँ पुखुको निर्माण कार्य सम्पन्न गरिसकेको छ । भाजु पुखु पुन: निर्माणकाे क्रममा रहेको र अरु पोखरी तथा सम्पदाको पुनर्निर्माण कार्य अगाडि बढाइरहेको नगर प्रमुख प्रजापति बताउनुहुन्छ। 

कुल १० वडा रहेको भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पदा संरक्षणका लागि मात्र प्रत्येक वडामा २०–२० लाखका दरले बजेट छुट्याएको छ। 

भक्तपुरमा किन बने धेरै पोखरी ? 

देशकै सानो नगर भक्तपुरका किन यति धेरै पोखरी छन् ? यो जिज्ञासा सबैको मनमा उठ्नु स्वाभाविक हो। भक्तपुर नगर प्रमुख प्रजापति पानीको स्रोतका लागि मात्र नभएर आगो नियन्त्रण र वातावरण सन्तुलनका लागि यसरी पोखरी बनाइएको बताउनुहुन्छ। ‘पोखरी किन निर्माण भए भन्ने ठ्याक्कै भन्न सकिँदैन। पानीको स्रोत, धुलो नियन्त्रण, वातावरण सन्तुलन, लुगा धुन, नुहाउन तथा सरसफाइ, पौडी खेल्न र अरू कारणका निमित्त बनाइएको हुनसक्छ’, नगर प्रमुख प्रजापतिले भन्नुभयो। 

एक सर्वेक्षण अनुसार भक्तपुरमा पानी ‘रिजर्भेसन’ र ‘रिसाइकल’का लागि धेरै पोखरी निर्माण भएको देखिएको छ। यहाँ धेरै पोखरीको नजिकै ढुंगेधारा बनेका छन्। नगर प्रमुख प्रजापति भन्नुहुन्छ, ‘पोखरीको पानी एक ठाउँबाट अर्को ठाउँको ढुंगे धारसम्म पुग्छ। जसले गर्दा जमिन सुख्खा हुन पाउँदैन। त्यत्ति मात्र होइन पुनः प्रयोगमा आइरहेको हुन्छ।’ कयौँ वर्षअघि बनाइएका पोखरी आज पनि मानव जीवनका लागि उपयोगी बनेका छन्। 


भक्तपुर नगरपालिका वडा नम्बर १ को भाजु पुखु । 


गरुड कुण्ड


कमल विनायक पोखरी


सँला पुखु


न्हु पुखु (रानी पोखरी)

ब्यासी टोलमा रहेको पोखरी ।



बागेश्वरी उच्च मावि अगाडिको पोखरी । 



नाग पोखरी 


तेखा पुखु ।

निर्माणधीन भाजु पुखु ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।