• ९ मंसिर २०८१, आइतबार

अध्यक्ष दाहालसहितका नेता राष्ट्रपति भवनमा

blog

काठमाडौं, भदौ १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीच छलफल सुरु भएको छ ।

अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव जनार्दन शर्मा राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति भवन पुग्नुभएको जानकारी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणले दिनुभयो ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरूसँग परामर्श गर्दै आउनुभएको छ ।

यसअघि सोमबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग समसामयिक एवम् नागरिकता विधेयकमा छलफल गर्नुभएको थियो । साथै उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग पनि परामर्श गरिसक्नुभएको छ ।

संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गरियोस् भनी संसद्लाई फिर्ता पठाउनु भएको थियो ।

सो विधेयकलाई प्रतिनिधि सभाले जस्ताको त्यस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले उक्त विधेयकलाई संसदीय समितिमा पठाएपछि शीर्ष तहमा यो छलफल सुरु भएको हो ।