• १२ असार २०८१, बुधबार

सम्पदामैत्री आवासका लागि प्रोत्साहन

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, भदौ १३ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले सम्पदामैत्री निजी आवास निर्माण गर्ने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियालाई सहज बनाउन सम्पदामैत्री निजी आवास निर्माण गर्ने नागरिकलाई गत आर्थिक वर्षदेखि प्रोत्साहन रकम उपलब्ध गराउन 

सुरु गरेको हो। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले पनौती संरक्षित स्मारक क्षेत्रमा रहेका पुराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड २०७७ जारी गरी मापदण्ड पूरा गर्ने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराएको जानकारी दिनुभयो। 

उहाँले लामो समयदेखि विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेकाले वडा नम्बर ७ लाई प्राचीन स्मारक क्षेत्र घोषणा गर्न निर्माण हुने निजी आवासलाई सम्पदामैत्री बनाउन जोड दिइएको बताउनुभयो। नगरपालिकामा स्थापना भएको ‘सम्पदा शाखा’ले नागरिकले सम्पदामैत्री संरचना निर्माण गरे, नगरेको हेर्नुका साथै नागरिकको आवासको नक्साको पुरातŒव विभागबाट स्वीकृत गराउन र नगरपालिकाबाट नक्साको अन्तिम स्विकृति दिनका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। 

शाखाका इन्जिनियर प्रदीप बस्नेतले जारी मापदण्डअनुसार आवास निर्माण गर्नेलाई प्रोत्साहनबापत पहिलो चरणमा सात जनालाई १५ लाख ३४ हजार ५६० रुपियाँ,  दोस्रो चरणमा २२ जनालाई ४९ लाख दुई हजार १०५ रुपियाँ र तेस्रो चरणमा ६४ लाख ३६ हजार ६६५ रुपियाँ प्रदान गरिएको बताउनुभयो। नगरपालिकाले बाहिरी आवरण, सार्वजनिक सडक, गल्ली, चोकबाट अगाडि मोहडाको प्रतिवर्ग फिट पाँच सय रुपियाँका दरले प्रोत्साहनबापत सहयोग उपलब्ध गराउँदै आएको छ। सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये ७३ घर सम्पदामैत्री बनाउनुपर्ने देखिएको छ। 

सम्पदामैत्री भवन निर्माणका लागि परम्परागत इँटाको प्रयोग, सुर्की, चुनाको प्रयोग, टायल वा झिँगटीको छानो, बिजोरमुखे झ्याल प्रयोग गर्नुपर्ने हुन्छ। यस्तै आवास निर्माण गर्दा सटर राख्न नमिल्ने, सिमेन्ट प्रयोग गर्न नपाइने, घरको पूरै भागलाई कौसी बनाउन नपाइने, घरको उचाइ छानोसहित ३५ फिट मात्रै हुनुपर्ने मापदण्डमा तोकिएको छ।