• १२ असार २०८१, बुधबार

पुल बग्यो, दिनचर्या कष्टकर

blog

सन्तोष सिग्देल 

सिन्धुपाल्चोक, भदौ १२ गते । मेलम्ची नगरपालिका–१० का मनोज अधिकारीको बिहानै उठेर फार्ममा पुगी बिक्रीका लागि कुखुरा तथा खसीको मासु तयार गरी वडा नं. ११ स्थित मेलम्ची बजारमा रहेको पसलमा लैजानु दैनिकी बनेको छ। फार्मबाट दैनिक तीन सय केजी मासुसहित अन्य सामान बोकेर बजारसम्म जाने एकमात्रै विकल्प हो झोलुङ्गे पुल। 

मेलम्ची बजारमा रहेको मोटरेबल पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुलबाट आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता  छ। 

व्यापारिक केन्द्र मेलम्चीमा पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र इन्द्रावती क्षेत्रका नागरिक दैनिक उपभोग्य सामानदेखि निर्माणका सामग्रीसम्म लिन आउने गरेका थिए तर पक्की पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ।

बाढी अघि पक्की पुल भएर बसमा वा मोटरसाइकलमा ल्याउने गरेको सामान अहिले बोक्नुपर्दा जनशक्ति पनि बढी लागेको उहाँले बताउनुभयो। “दैनिक सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ। व्यवसाय नगरौँ आम्दानीको स्रोत नै बन्द हुन्छ। झोलुङ्गे पुलमा गह्रौँ सामान बोकेर आउन/जान समस्या छ। बिहान/बेलुका आवतजावत गर्नेको चाप धेरै हुँदा पुल धेरै हल्लिन्छ,” उहाँले भन्नुभयो। 

पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का बासिन्दाले गाडी प्रयोग गर्न हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने हुन्छ। हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटरेबल पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलिब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ। 

मेलम्ची १० का विष्णुमणि भट्टराईको पनि समस्या उस्तै छ। उहाँले बाढी आउनुभन्दा अघि सात हजार कुखुरा हुर्काउने गरी फार्म निर्माण गरी कुखुरा पाल्दै आउनुभएको थियो। “असार १ को बाढीले ३५ सय क्षमताको एउटा फार्म नै बगायो। अर्को फार्ममा रहेको कुखुरा पनि बल्लतल्ल बजारसम्म लगियो। दाना, चल्ला ल्याउन र लान नै समस्या भयो। अहिले कुखुरा पाल्ने जाँगर पनि हरायो,” उहाँले भन्नुभयो। बाढीपछि धेरै कुखुरापालक किसान विस्थापित भएको र कति वैदेशिक रोजगारीमा गएको उहाँले जानकारी दिनुभयो। 

बाढीका कारण कतिको ज्यान गयो भने कतिको गरी खाने ठाउँ नै बगर बनेको छ। मेलम्चीका व्यापारी दशरथ दनुवारले ढुवानी गर्न सवारी भाडा महँगो पर्ने भएकाले अघिल्ला वर्षको तुलनामा यो वर्षहरूको तुलनामा गाउँमा सामान कम मात्रामा लैजाने गरेको जानकारी दिनुभयो। 

आकस्मिक सेवा लिनुपर्ने बिरामी र सुत्केरीलाई भने हेलिकोप्टरमार्फत सेवा दिँदै आएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो। 

नगर उद्योग वाणिज्य सङ्घ मेलम्चीले मेलम्ची खोलामा पुनः ह्युमपाइप राखेर बाटो सञ्चालन गर्न मेलम्ची नगरपालिकालाई आग्रह गरेको छ। मेलम्ची नगरपालिकाका अनुसार बाढीपछि वैकल्पिक बाटोहरू बनाउने र बन्द भएका बाटोहरू खुलाउने काम भइरहेको छ।