• १३ साउन २०८१, आइतबार

विद्यालय पुग्नै जोखिम

blog

जानु पाण्डे

कपिलवस्तु, भदौ १० गते । “विद्यालय पुग्न खोला पार गर्नुपर्छ तर खोलामा पुल छैन । पानी पर्दा ठूलो भेल आउँछ । करिब एक हप्तासम्म पानी घट्दैन । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक पटक लडिएको छ । कैयौँपटक किताब र झोला भिजेका छन् । केही साथी चोटपटक लागेर घाइते हुनुभएको छ ।”

विजयनगर गाउँपालिकाको शिव माध्यमिक विद्यालय डालपुरमा कक्षा १० मा अध्ययनरत रञ्जु कुर्मी विद्यालय पुग्दाको व्यथा सुनाउँदै भन्नुहुन्छ, “सरकार हामी विद्यालय जाने बाटोमा पुल देउ !”

कपिलवस्तुको विजयनगर गाउँपालिका–५ देवीपुर डालपुर जोड्ने विसुवा खोलामा साना दुई थान ह्युमपाइप राखिएको छ । सो वडाको करिब सात टोलका बालबालिका अध्ययन गर्ने एक मात्र विद्यालय पुग्न खोला पार गर्नुपर्छ । खोलापारिका करिब २५० बालबालिका विद्यालयमा अध्ययन गर्ने विद्यालयका शिक्षक बालजी कलवार बताउनुहुन्छ । वर्षा भयो भने बाढीका कारण बालबालिका जोखिम मोल्दै विद्यालय पुग्नुपर्ने बाध्यता टरेको छैन । 

विजयनगरका ठाकुरापुर, देवीपुर, दत्तपुर, कटानियालगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा वर्षायाममा आउजाउ गर्न सास्ती खेप्नु परेको छ । बालबालिकाले विद्यालय पुग्न काठको फड्केको सहारा लिनुपरेको छ । पुल नहँुदा विद्यालय जाने क्रममा हिलोमा चिप्लिएर केही विद्यार्थी घाइते भएको विद्यालयकी छात्रा पूर्णिमा विश्वकर्मा बताउनुहुन्छ । नगरपालिकाले डीपीआर निर्माण गरी पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा बताउनुहुन्छ । पुल नहुँदा केही बालबालिका खोलामा डुबेर मृत्यु भएको अध्यक्ष थापाले बताउनुभयो । सो स्थानमा १५० मिटर लामो मोटरेवल पुल आवश्यक परेको हुँदा गाउँपालिकाको बजेटले अपुग हुने हुँदा सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष थापाले गुनासो गर्नुभयो ।