• ८ असार २०८१, शनिबार

फुल्हम लिग कपबाट बिदा

blog

लन्डन, भदौ ९ गते ।  इङ्ग्लिस लिग कपको दोस्रो चरणमा प्रिमियर लिग क्लब फुल्हमलाई चौथो डिभिजनका क्रलेले मङ्गलबार राति २–० ले स्तब्ध बनाएको छ। यस हारपछि फुल्हमले यो सत्र इङ्ग्लिस प्रिमियर लिगमा मात्र ध्यान केन्द्रित गरे पुग्ने भएको छ। 

क्रलेविरुद्ध फुल्हमले आफ्नो बलियो टिमलाई खेलाएको थियो तर प्रिमियर लिग पुनरागमनमा सुरुका खेल शानदार प्रदर्शन गर्ने फुल्हमले लिग कपमा निराश बनायो। प्रिमियर लिगमा फुल्हम तीन चरण सकिँदा अपराजित छ। लिभरपुल र वोल्भरह्याम्पटनसँग बराबरीमा खेलेपछि फूल्हमले गत शनिबार ब्रेन्टफर्डलाई पराजित गरेको थियो।

लेस्टर र बोर्नेमाउथलाई दोस्रो चरणको खेल जित्न पेनाल्टी सुटआउटको आवश्यकता प-यो। गोलरक्षक डेनिल इभर्सनले तीन पेनाल्टी प्रहार रोकेपछि लेस्टरले चौथो डिभिजनको स्टकपोर्टलाई ३–१ ले हरायो। 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रोकेपछि जित–हारको छिनोफानो टाइब्रेकरमा भएको हो। बोर्नेमाउथले दोस्रो डिभिजनको नर्विचलाई पेनाल्टीमा नै ५–३ ले निराश बनायो। यी दुई टिमबीचको निर्धारित समयको खेल २–२ ले बराबरीमा सकिएको थियो।

अन्य खेलबाट जित हासिल गरी एस्टन भिल्ला, इभर्टन, वोल्भ्स र क्रिस्टल प्यालेस पनि अगाडि बढेका छन्। एस्टन भिल्लाले बोल्टनलाई ४–१ ले हरायो। डेमराई ग्रेको गोल निर्णायक बनेपछि इभर्टनले फ्टिउडलाई १–० ले हरायो। यसैगरी, वोल्भसले प्रस्टनलाई २–१ तथा प्यालेसले अक्सफोर्ड युनाइटेडलाई २–० ले पराजित गरे। एपी