• ८ असार २०८१, शनिबार

वन र खोल्सामा प्याड

blog

बुलबुले समाचारदाता

सुर्खेत, भदौ ९ गते । गत वर्षदेखि सुर्खेतका सामुदायिक विद्यालयले छात्राहरूलाई निःशुल्क रूपमा प्याड उपलब्ध गराउन थालेपछि उनीहरूलाई प्याडको समस्या हटेको छ। तर प्याड प्रयोग गरिसकेपछि विसर्जन गर्ने ठाउँ नहुँदा निकै समस्या भएको छ। छात्राहरूले अहिले पनि रगतले लतपतिएको प्याड आफ्नै झोलाभित्र राख्छन् र वनजङ्गल तथा खोलाखोल्सातिर लगेर फ्याँक्छन्। यो उनीहरूको रहर होइन, बाध्यता हो। उनीहरूलाई प्याड दिइयो, विसर्जन गर्ने तरिका बताइएन, जसले गर्दा छात्राहरू प्रयोग भएको प्याड खोलानालामा फाल्न बाध्य भएका छन्।

एक वर्ष अघिसम्म दैलेख जिल्लाको गुराँस गाउँपालिकास्थित गुराँस आधारभूत विद्यालयका छात्राहरू महिनावारी भएका बेलामा विद्यालय जान हिच्किचाउँथे। एकातिर पेट दुख्ने समस्या, अर्कोतिर सेनेटरी प्याड नहुँदा रगत लुगामा लाग्ने, अरूले देख्लान् भनेर पढाइमा ध्यान नजाने भएकाले उनीहरू निकै समस्यामा थिए। किशोरीहरूलाई विद्यालयमा महिनावारीका बेला सहज वातावरण र सेनेटरी प्याडको आवश्यकता थियो। तर यो समस्या अहिले विसर्जनले लिएको उनीहरूको भनाइ छ।

सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा कल्पना विकलाई प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा महिनावारीको समस्या यातनाझैँ लाग्छ। विद्यालयमा मात्र होइन, घरमा पनि प्याड फाल्ने ठाउँ नभएको भन्दै प्लास्टिकमा पोको पारेर जङ्गलमा लगेर फ्याँक्ने गरेको विकले बताउनुभयो। किशोरीमैत्री शौचालय नहुँदा महिनावारीको समयमा किशोरीहरूलाई निकै समस्या भइरहेको बताइएको छ। महिनावारीको विषय केही वर्षअघिसम्म पनि विद्यालयको प्राथमिकताको विषय थिएन। त्यसैले विद्यालयमा छात्रामात्र होइन, शिक्षिका पनि यस विषयमा खुलेर बोल्न हिच्किचाउँथे।

सरकारले ‘स्यानेटरी प्याड कार्यविधि–२०७६’ बनाएर सामुदायिक विद्यालयमा प्याड उपलब्ध गराउन थालेपछि यस विद्यालयमा पनि स्थानीय सरकारले प्याडका साथै सचेतनाका कार्य सञ्चालन ग-यो। जसका कारण छात्राहरूको स्वास्थ्य र शैक्षिक सुधारमा समेत मद्दत पुगेको विद्यालयकी शिक्षिका शान्ति कार्कीले बताउनुभयो। उहाँका अनुसार पहिले–पहिले छात्राले महिनावारी भएको समयमा तीन/चार दिन विद्यालय छुटाउँथे। विद्यालयमा प्याडको व्यवस्था नहुँदा पढाइ छुट्ने गरेको थियो। अहिले महिनावारीबारेमा खुलेर कुरा राख्ने गरेका छन् तर विद्यालयमा किशोरीमैत्री र अपाङ्गमैत्री शौचालय, पर्याप्त पानी, महिनावारीका बेला आराम गर्ने कोठा र प्याड विसर्जनको व्यवस्था नहुँदा विद्यार्थीले निकै अप्ठ्यारो भोग्नुपरेको छ। आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले बताउनुभयो।