• ८ असार २०८१, शनिबार

चिकित्सक नहुँदा बिरामीलाई सास्ती

blog

रेखीराम राना

पाल्पा, भदौ ९ गते । तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । दुई वर्षअघि ५० शøयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाए पनि दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले हैरानी बेहोर्नुपरेको हो । 

५० शøयाको अस्पताल स्वीकृति पाएपछि नौ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने व्यवस्था छ तर अस्पतालमा हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । एमबीबीएस डाक्टर आठ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् । 

दरबन्दीअनुसारका चिकित्सक र कर्मचारी नहुँदा तोकिएको सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय स्वास्थ्य बीमा गरेका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्थाले पनि पाल्पा अस्पतालमा बिरामीको चाप बढेको छ । 

अस्पतालमा स्वास्थ्यकर्मी र विशेषज्ञ सेवा दिने चिकित्सक नहुँदा सेवा प्रवाहलाई सहज बनाउन समस्या भइरहेको अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जिता महतोले बताउनुभयो । 

“बिरामीका लागि भनेर ओपीडी सेवा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । दरबन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा ३ बजेसम्म सञ्चालन गर्नुपर्ने ओपीडी राति ७ बजेसम्म सञ्चालन गरेका छौँ, उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समयमै उपचार पाउन र घर फर्किन समस्या भएको छ । अस्पतालमा डाक्टर नभएको भनेर घण्टौँ कुरेर सेवा लिनुपर्ने अवस्था रहेको रैनादेवी छहरा–५, मुझुङका नरबहादुर बुचाले बताउनुभयो । उपचारका लागि बिहान ११ बजे आइपुगे पनि आफूले बेलुकी ६ बजे मात्र सेवा पाएको उहाँले गुनासो गर्नुभयो । 

अस्पतालले अहिले स्वास्थ्य बीमा गरेका बिरामीलाई सिधै रिफर गर्न रोकेको छ । “पहिले सिधै रिफर दिने गरिएको रहेछ तर अहिले त्यसरी रिफर दिइँदैन,” अस्पतालका डाक्टर विवेक भण्डारीले भन्नुभयो, “त्यसले अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ ।” पहिले दैनिक एक/डेढ सय बिरामीको जाँच हुने गरेकोमा अहिले सोही जनशक्तिबाट दैनिक चार सयभन्दा बढी बिरामीलाई परीक्षण गर्नुपर्ने अवस्था रहेको भण्डारीले बताउनुभयो । सिधै दिने रिफर रोकेपछि अधिकांश बिरामीको उपचार अस्पतालभित्रै हुने गरेको उहाँले बताउनुभयो ।  

अस्पतालले हाल आकस्मिक उपचार गरिरहेका बिरामीका लागि फार्मेसी, एक्स–रे र ल्याब सेवा चौबीसै घण्टा सञ्चालन गरेको छ । अस्पतालले सेवा थप गर्दै लगेपछि आकस्मिक कक्षमा दिनहुँ बिरामीको सङ्ख्यासमेत बढेको छ । 

हाल अस्पतालले ओपीडी, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, नेत्रसम्बन्धी उपचार, दन्त, फार्मेसी, आमा सुरक्षा, परिवार नियोजन, कोभिड जाँच, मेडिको लिगललगायतका सेवा दिइरहेको छ । अस्पतालको सेवा सुधार गर्न निरन्तर लागिपरे पनि कर्मचारी र स्वास्थ्यकर्मी पर्याप्त नहुँदा सेवाका कठिनाइ भइरहेको अस्पतालका स्वास्थ्यकर्मीको भनाइ छ ।