• ८ असार २०८१, शनिबार

बुढेसकालमा नागरिकता बाँच्नलाई सहारा

blog

कास्की समाचारदाता

कास्की, भदौ ९ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई जना वृद्धले नागरिकता पाएका छन्। वडा नम्बर ८ मा बस्ने ६८ वर्षीय दानबहादुर गुरुङ र ७८ वर्षीय डमरबहादुर गुरुङले नागरिकता पाउनुभएको हो। 

वडाध्यक्ष रामबहादुर गुरुङका अनुसार दुवै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकता दिएको हो। “दुई वृद्धले नागरिकता नपाएको खबर आयो, त्यसपछि वडाबाट पहल गरेका हौँ,” गुरुङले भन्नुभयो। उहाँका अनुसार दुवै जना एकल पुरुष हुनुहुन्छ। अब दुवै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकारबाट प्रदान हुने सेवासुविधा लिन बाटो खुलेको छ।  

नागरिकता प्रमाणपत्रको अभावमा कोही पनि ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकारबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्जित भए वडामा खबर गर्न आग्रह गरिएको छ। वृद्ध अवस्थामा नागरिकता पाएपछि दानबहादुर र डमरबहादुर खुसी देखिनु भएको छ। 

नेपालको कानुनमा १६ वर्ष पुगेपछि नागरिकता दिने प्रावधान छ। नेपालीले १६ वर्ष पूरा भएपछि वडा कार्यालयको सिफारिससाथ जिल्ला प्रशासन कार्यालबाट नागरिकता पाउँछन्।