• १९ कात्तिक २०८१, सोमबार

स्वर्ण जितेर फर्किँदा जागिरै गयो : राजु शाक्य

blog

काठमाडौं, भदौ ६ गते । नेपाली फुटबलका लागि धरान उर्वरभूमि हो । बेलायती लाहुरेको बाहुल्य रहेको धरानमा फुटबल खेलको माहाैल पनि पहिलादेखि नै राम्रो थियो । त्यही धरानको फुटबलकाे माहाैलले राजुकाजी शाक्यलाई पनि बच्चैदेखि मोहित बनायो । फुटबल भनेपछि हुरुक्क हुने शाक्य सानो उमेरमै ठूला दाजुहरुको सिको गर्दै फुटबलमा लाग्नुभयो । 

विस्तारै खेल्दै जाँदा उहाँले उमेर समूहदेखि राष्ट्रिय टोलीमा धेरै खेल्ने मौका समेत पाउनुभयो । ‘‘१७ वर्षको उमेरदेखि फुटबल खेलाडीको रुपमा स्थापित भएको हुँ । काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि सातौं सागसम्म लगातार खेलेँ । टोलीको रुपमा खेल्दा दुई संस्करणमा स्वर्ण, एक रजत र अन्य संस्करणमा कास्य मिल्यो । सन् १९९१ देखि १९९७ सम्म लगातार टोलीको कप्तानको रुपमा खेल्न पाउनु आफूलाई भाग्यमानी ठान्छु । सन् १९९३ को सागमा आफ्नै कप्तानीमा गोल्ड मेडल जित्दा त्यतिबेला मेरो खुशीको वेग छुट्टै थियो,’’ शाक्यले गोरखापत्रसँग बताउनुभयो । 

जीवनमा उतारचढाव सधैं हुन्छन् । शाक्यको फुटबल जीवनमा पनि धेरै उतारचढाव भए । सन् १९९७ को साफ च्याम्पियनसिप फुटबल खेलेपछि उहाँले राष्ट्रिय टोलीबाट सन्यास लिनुभयो । खेलाडीको रुपमा राष्ट्रको झण्डा बोक्न पाउनु धेरै गर्वको विषय थियो । उत्कृष्ट खेलाडीको छवि बनाउनुभएका शाक्यले सन् १९९६ देखि १९९८ सम्म बङ्गलादेशको भिक्टोरिया क्लबबाट व्यावसायिक फुटबल खेल्नुभयो । त्यसअघि एक सिजन बङ्गलादेशकै 'इस्ट इन क्लब'बाट पनि खेल्ने मौका पाउनुभयो । 

स्वर्ण जितेर फर्किँदा जागिर नै गयो  

राष्ट्रिय टोलीबाट खेल्दा शाक्यको खेल प्रदर्शन र चर्चा राम्रै थियो । तर खेलाडीमाथि पदाधिकारीले गर्ने राजनीति बिर्सन लायक थियो । ‘‘त्यतिबेला आरएनएसीबाट फुटबल खेल्ने म । कन्ट्रयाकको जागिरे खेलाडी थिएँ म । त्यतिबेला जनकपुर चुरोट कारखाना, आरएनएसी, आयल निगम जस्ता संस्थानहरुमा खेलाडीले जागिर पाउँथे । सागको स्वर्ण जितेपछि मेरो जागिर स्थायी गरिदिने कुरा भएको थियो । स्थायी जागिरे हुन पाउने भनेर खुशीको सीमा थिएन । स्वर्ण जितेर स्वदेश फर्किएपछि त उल्टाे भयाे, जागिर नै गयो । कुरा भयो, काम चाहिँ शून्य,’’ शाक्यले दुःख सम्झिनुभयो । 

त्यतिमात्र होइन सन् १९९४ को एसियाली खेलमा नेपालको झण्डा बोक्ने जिम्मेवारी शाक्यलाई दिइएको थियो । तर अन्तिममा अर्कै खेलाडीले झण्डा बोक्यो । ‘’त्यतिबेला म रोएको थिएँ । खेलाडीको रुपमा राम्रो गरे पनि सम्मान र उपहारबाट ठगिएको मान्छे हुँ, म,’’ शाक्यले भन्नुभयो । 

दुःखमा पनि फुटबल नछाड्ने अठोट 

शाक्यलाई खेलाडी छँदै विभिन्न देशबाट राम्राे अवसर आएको थियो । तर, त्यसलाई उहाँले वास्ता गर्नुभएन । ‘‘फुटबल मेरो नशा थियो । खेल जीवन सकिएपछि पुनः फुटबलमै आफ्नो धर्म निर्वाह गर्न मन लाग्यो । सन् १९९७ मा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एकेडेमी सञ्चालन गरेपछि त्यही जुनियर खेलाडीलाई प्रशिक्षण गराउन थालेँ । खेलाडी हुँदै एनआरटी, विभागीय टोली त्रिभुवन आर्मी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, सङ्कटा, मच्छिन्द्रलगायत क्लबमा प्रशिक्षण गरेँ। 

सन् १९९९ को साग गेममा टोलीको सहायक प्रशिक्षक भएँ । स्वर्ण जितेको हाम्रो टोलीलाई सरकारले विशेष सम्मानसहित गोरखा दक्षिणबाहुबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । टोलीका प्रशिक्षक र खेलाडीले पाए । मलाई सहायक प्रशिक्षक भनेर दिइएन । खेल जीवनमा सङ्घर्षका कथा धेरै छन् । तर पनि मैले इख लिएर फुटबलमा मिहिनेत गर्दै गएँ । जागिर भएन, राम्रो पढ्न सकिएन । सधैं धेरै आश्वासन बाँडियो । तर कहिल्यै आश्वासन पूरा भएन । कर्ममा विश्वास गर्ने मान्छे म । बरु गाडा गुडाएर बाँच्छु, फुटबल छाड्दिन भन्ने अठोट गरेँ । त्यो अझै पनि जारी छ ।’’

साग सधैं विशेष

मेरा लागि साग आफैँमा विशेष बन्दै आएको छ । खेलाडीको रुपमा विभिन्न सागमा फरक फरक अनुभव लिएको छु, शाक्यले भन्नुभयो । फुटबलमा कप्तान र प्रशिक्षकको रुपमा स्वर्ण जित्ने उहाँ भाग्यमानी खेलाडी हुनुहुन्छ । सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । छैटौं संस्करणमा नेपालले स्वर्ण जित्दा उहाँ कप्तान हुनुहुन्थ्यो । शाक्यले प्रशिक्षकका रुपमा सन् २०१६ मा भारतमा भएको सागको १२औं संस्करणमा २३ वर्षमुनिको फुटबल टोलीलाई स्वर्ण जिताउनुभएको थियो । 

शाक्यका अनुसार नेपाली फुटबल सधैं राम्रो छ । तर हाम्रो भौतिक संरचना, खेलाडी र प्रशिक्षकलाई समय सापेक्षित रुपमा विकास गर्दै जानु आवश्यक छ । उहाँ भन्नुहुन्छ, ‘‘रिजल्ट आउँदा मख्ख पर्ने त्यसपछि गुमनाम हुने चलन नेपालमा छ । खेलाडी विस्तारै विदेश पलायन हुँदै गएका छन् । आर्थिक समस्याका कारण अहिले पनि धेरै खेलाडी बाहिर गइरहेका छन् । यसको अन्त्य हुनुपर्छ । खेल्नका लागि मुख्य वातावरण हो । जुनियर लेभल देखि नै खेलाडीलाई फुटबलमा लाग्न प्रेरित गर्नुपर्छ । फुटबलको संरचनाहरु निर्माण गरिनुपर्छ । एन्फा, सरकार र सम्बन्धित निकायले यसमा ध्यान दिन आवश्यक छ ।’’ 

नेपाली फुटबलमा सदाबहार व्यक्तित्वको छवि बनाउनुभएका ६३ वर्षीय शाक्यसँग गरिएको भिडियो संवाद:


भिडियोः मनोजरत्न शाही / केशब गुरुङ्ग