• १३ असोज २०८१, आइतबार

गोरखापत्रका समाचार अब हाम्रो पात्रोमा

blog

सम्झौतापछि संस्थानका कार्यकारी अध्यक्ष सुवेदी, महाप्रबन्धक ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक भट्टराईसहित । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २ गते । गोरखापत्र संस्थानका प्रकाशनहरुका समाचार सामग्रीहरू अब ‘हाम्रो पात्रो’ मा पढ्न र हेर्न सकिने भएको छ । गोरखापत्र संस्थान र स्मार्ट आइडियाज प्रा.लि. (हाम्रो पात्रो) बीच संस्थान कार्यालयमा बिहीबार दुई पक्षबीच सम्झौता भएपछि पाठकलाई यो सुविधा प्राप्त भएको हो ।

संस्थानका प्रकाशनहरु गोरखापत्र दैनिक, द राइजिङ नेपाल, मासिक प्रकाशनहरु मधुपर्क, युवामञ्च, मुनाका सामग्रीलाई गोरखापत्रको डिजिटल प्रकाशन ‘गोरखापत्र अनलाइन डट कम र राइजिङ नेपाल डेली डट कम’ मार्फत् पाठकसम्म पुर्‍याउने उद्देश्यले यो सम्झौता भएको हो ।

संस्थानबाट उत्पादित समाचार सामग्रीलाई हाम्रो पात्रोले आफ्नो एप्लिकेसन र वेबसाइटमा प्रकाशन र प्रशारण गर्नेछ । गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम र हाम्रो पात्रोको तर्फबाट बिक्री तथा बजार प्रमुख सुजाता गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, संस्थानका अर्थ विभाग निर्देशक यमप्रसाद कँडेल, प्रशासन/व्यापार विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल, आइटी विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठको उपस्थितिमा सो सम्झौता गरिएको हो । यसैगरी, हाम्रो पात्रोका निर्देशक सुदिना गौतम र बिक्री तथा बजार प्रमुख सुजाता गौतम सहभागी हुनुहुन्थ्यो ।

सम्झौतापछि महाप्रबन्धक ऐरीले प्रविधिलाई पछ्याउँदै हाम्रो पात्रोसँग संस्थानले सहकार्य गरेको बताउनुभयो । उहाँले गोरखापत्रका सामग्रीलाई हाम्रो पात्रोले प्राथमिकतासाथ प्रकाशन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक भट्टराईले गोरखापत्रको आफ्नै इतिहास र पहिचान भएकाले सम्झौताले हाम्रो पात्रोलाई पनि फाइदा पुग्ने बताउनुभयो । गोरखापत्र संस्थानद्वारा प्रकाशित आधिकारिक समाचार सामग्री नै संस्थानको पूँजी भएकाले त्यसलाई अवसरको रुपमा दुवै पक्षले लिनुपर्ने उहाँको भनाइ छ ।