• ३० कात्तिक २०८१, शुक्रबार

नागरिकता विधेयकमा प्रतिपक्षी दलले राजनीति गरेको वर्षमान पुनको आरोप

blog

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी सांसद । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, भदौ २ गते। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ। 

नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न उहाँले एमालेलाई आग्रह गर्नुभयो। बिहीबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि छलफल गर्न सकिने बताउनुभयो। 

अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभयो। पुनले भन्नुभयो, ‘‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यकताको लागि ल्याइएको भन्नुभएको छ। खासगरी यसमा लाखौं नेपाली नागरिक जसको बुवा नेपाली नागरिक हो। जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ। उहाँहरुका छोराछोरी अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला। एउटा सामान्य दैनिक जीवनका कुरा, अप्ठ्यारा भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो। नाागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं। बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीलाई आग्रह गर्दछु।’’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गर्नुभयो।