• १३ असोज २०८१, आइतबार

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता

blog

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट । तस्बिर : सभामुखको सचिवालयबाट

काठमाडौं, साउन २७ गते । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको सापकोटाको भनाइ छ ।

उहाँले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गर्नुभयो । 

यसैगरी, राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउनुभयो । उहाँले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गर्नुभयो । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको पनि उहाँले बताउनुभयो ।

राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।