• १३ साउन २०८१, आइतबार

ग्रामीण भेगलाई सडक सञ्जालमा जोड्ने पक्की पुल

blog

विजयनगर गाउँपालिका १ नेवलागन्जमा निर्माण सम्पन्न भएको विशुवा खोला पुल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन २६ गते । पुल नभएर सास्ती खेप्दै आएका कपिलवस्तुका ६ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरु लाभान्वित भएका छन् । लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटर सम्मका पुल निर्माण भएका छन् । 

दशकौंदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको हो । सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका निमित्त प्रमुख इन्जिनियर हितेन्द्र रायमाझीका अनुसार बोडगाउँ मोर्मी जिनुवा सडकको कोइदी नदी पुल, विजयनगर गाउँपालिकाको भटेनी खोला, विशुवा खोला (नेवलागन्ज) पुल, कपिलवस्तु नगरपालिकाको रामकजिया खोला, जमुवार खोला पुल, ओदारी पटना कोठी नदी अन्तर्गत दोलहा कुला पुल निर्माण सम्पन्न भएका छन् ।

निर्माण भएका पुलले ग्रामीण बस्तीलाई कपिलवस्तुको मुख्य सडक सञ्जालमा जोडन सहज बनाएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापामगरले बताउनुभयो । विजयनगर गाउँपालिकाभित्र बनेका २ पुलले यहाँका स्थानीयलाई यात्रा गर्न सहज बनाएको अध्यक्ष थापामगरले बताउनुभयो । पुल निर्माण भएपछि स्थानीयलाई जोखिम दिएर नदी तर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

बाणगङ्गा नगरपालिकाको मुर्मीस्थित कोइली नदीमा तीन दशकपछि पुल निर्माण भएको स्थानीय टुकलाल गैरेले बताउनुभयो । पुल नहुँदा स्थानीयले आवतजावत गर्न काठले बनेको जीर्ण पुल प्रयोग गर्दैआएका थिए । सडक पूर्वाधार विकास कार्यालयले अघिल्लो कात्तिक महिनादेखि जिल्ला सदरमुकाम तौलिहवामा कार्यालय स्थापना गरी काम सुरु गर्दै आएको छ ।