• १२ असार २०८१, बुधबार

गोरखापत्रका फोटो पत्रकार द्वारे सम्मानित

blog

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ फोटो पत्रकार विकास द्वारेलाई सम्मानित गर्नुहुँदै । तस्बिर : गाेरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २४ गते । गोरखापत्र संस्थानमा कार्यरत फोटो पत्रकार विकास द्वारे मङ्गलबार ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२’ बाट सम्मानित हुनुभएको छ । 

विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिको आयोजनामा भएको कार्यक्रममा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले द्वारेलाई १० हजार रुपियाँसहित सम्मानपत्रले पुरस्कृत गर्नुभयो । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारको रुपमा चार दशकभन्दा बढी समय बिताइसक्नु भएका नातिकाजी महर्जनले स्थापना गर्नुभएको हो ।

कार्यक्रममा स्थानीय प्रशासन मन्त्री श्रेष्ठले नेवारी संस्कृतिकाे विश्वमै चर्चाको विषय हुने भएकाले नेवारी सम्पदा, चाडपर्व, परम्परा, संस्कृतिकाे प्रचार प्रसारमा ठूलो भूमिका फोटो पत्रकारहरुको हुन्छ भन्नुभयो ।


यसैगरी, पुरस्कार दाता फोटो पत्रकार महर्जनले नेवार परम्परा, संस्कृति, चाडपर्व, रीतिथिति आदिमा फोटो पत्रकारिता गर्ने एकजना पत्रकारलाई प्रत्येक वर्ष सम्मानित गर्न यो पुरस्कार स्थापना गरेको जानकारी दिनुभएको छ । महर्जनले नेवारी संस्कृति विश्वमै धनी छ र यसको थप प्रबर्धनका लागि बढीभन्दा बढी फोटो पत्रकारिता गर्नुपर्छ भन्ने विचारहित यो पुरस्कार स्थापना गरेको बताउनुभयो ।

उत्कृष्ट फोटो पत्रकार चयनका लागि वरिष्ठ फोटोग्राफर शम्भु मानन्धरको संयोजकत्वमा तीन सदस्यीय चयन समिति पनि गठन गरिएको छ ।

नेपाल एकेडेमी अफ फाइन आर्टसया उपकुलपति गोपाल चित्रकारले वर्षौंदेखि नेवारी परम्परा र संस्कृतिकाे एकचित्त भएर फोटो पत्रकारिता गर्दै आएका महर्जनले आफ्नै पेसामा यस क्षेत्रमा अब आउने नयाँ पुस्तालाई पुरस्कारको व्यवस्था गरेको काम उदाहरणीय छ भन्नुभयो ।

विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिका सल्लाहकार पुष्कर माथेमाले पुरस्कार दाता महर्जनले आफूले नेवारी संस्कृति, चाडपर्वमा गरिरहेको फोटो पत्रकारिताको कर्मलाई यसै विषयमा सम्बन्धित भएर पुरस्कारको स्थापना गरेर अझ आफ्नो उचाइ बढाएको भनाइ राख्नुभयो ।

नेवाः देय दबुका अध्यक्ष पवित्र बज्राचार्यले नेवारी संस्कृति जोगाउने काम गैर नेवारहरुले पनि गरिरहेको छ तर पनि यसको प्रमुख जिम्मेवारी नेवारहरुकै हो, भन्नुभयो । 

काठमाडौँ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुछेकाजी महर्जनले संस्कृति, सम्पदा बचाउन स्थानीयबासीले आ–आफ्ना ठाउँमा ध्यान पुराइरहेको अवस्था नभएको भनाइ राख्नुभयो ।

कार्यक्रममा विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिका सचिव प्रवीण महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने अध्यक्ष दानदास श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।