• ४ जेठ २०८१, शुक्रबार

बीमाको रकम लिन युवकको हत्या, छ पक्राउ

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, साउन १३ गते । एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको सर्जन बिकको हत्या भएको रहस्य खुलेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको हत्या भएको रहस्य सार्वजनिक गरेको हो ।

बाँकेको कोहलपुर बस्ने २१ वर्षीय बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् । सीआईबीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले छ जनालाई साङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

हत्याको रहस्य
सर्जन बिकको २०७८ वैशाख २ गते राति बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । सर्जनलाई ट्रिपरमा बालुवा लोड गराउने भनि भे१०प१७२७ नम्बरको मोटरसाइकलमा गएका थिए । काम सकेर घर फर्किने क्रममा बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा विपरित दिशाबाट आएको मिनी बसले सर्जनलाई ठक्कर दिएको थियो । टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनी बसको ठक्करबाट सर्जनको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकोमा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र दुई हजार रुपियाँ जरिवाना गरी छाडिएको थियो ।

मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी रिलायन्स इन्स्योरेन्सबाट दुई करोड ५० लाख रुपियाँ भुक्तानी लिएका थिए ।

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्स्योरेन्स  कम्पनीले दुई करोड ५० लाख रुपियाँ भुक्तानी दिएको थियो ।

बीमाबाट आएको रकम सञ्जीव अर्याल, दिपक केसी, छबि कुमारी खत्री(सपना मल्लको आमा), सपना मल्लले बाँडेर लिएको ब्यूरोले जनाएको छ ।

अर्यालले ८० लाख २६ हजार रुपियाँ, दीपक केसीले ६० लाख, छवि कुमारी खत्रीले १७ लाख ४६ हजार रुपियाँ लिएका थिए । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ ।

नक्कली विवाह
सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन र सपनाले विसं. २०७७ चैत २ गते विवाह नक्कली विवाह दर्ता गराएका थिए । सर्जन र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो ।


विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गरिब परिवारका सर्जनलाई विवाह गरी अष्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गराइएको पाइएको थियो ।

दुई करोड ५० लाख रुपियाँको बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

सर्जनको मृत्युपछि इन्स्योरेन्स कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स इन्सुरेन्स कम्पनीले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको खुलेको थियो ।