रमेश विश्वकर्मा
गुल्मी, वैशाख ६ गते। धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ । शनिबारबाट अस्पतालमा दन्त सेवा सुरु भएको हो। दाँत फाल्ने, सफा गर्ने र औषधी प्रदान गर्ने सेवा अस्पतालबाट प्रदान हुनेछ ।
औषधी र दाँत फाल्ने सेवा स्वास्थ्य बीमामा समेत समावेश गरिएको छ। शनिबार गुल्मी अस्पतालका डेन्टल हाइजेनिष्ट सुनिल गैरेले सेवा प्रदान गर्नुभयो । अर्को महिनाबाट दाँतसम्बन्धि विशेषज्ञ चिकित्सकले सेवा दिनेछन् ।
दाँतसम्बन्धि उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुने बताइएको छ । अस्पतालमा पछिल्लो समय सेवा सुविधा थपिदैँ गएका छन् । चार महिना अगाडीबाट अस्पतालमा आँखासम्बन्धि सेवा पनि थप गरिएको छ ।
ग्रामीण भेगका गरिब एवं विपन्न नागरिकलाई लक्षित गर्दै सेवा सुरु गरेको पालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । ‘‘संविधानमा सबै नागरिकको स्वास्थ्यसम्बन्धि हकको व्यवस्था गरिएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘सरकारको तर्फबाट क्रमशः त्यसैलाई पुरा गर्दैछौं ।’’