चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ६ गते । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिङमा शेर्पाका नौ वर्षीय छोरा फुर्वा शेर्पा तमोरले बगाएर बेपत्ता हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलका अनुसार मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ र फुङ्लिङ नगरपालिका–२ हान्द्रुङबिच भएर बग्ने तमोर नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बालक बगेर बेपत्ता हुनुभएको हो ।
बालक बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय चाँगे दोभानमा खबर भएपछि तत्काल प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा बालकको खोजीका लागि प्रहरी टोली खटिएको थियो । प्रहरी टोली, आफन्त र स्थानीय जुटेर शनिबार साँझसम्म खोजी गर्दासमेत बेपत्ता बालक फेला पार्न नसकिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
आइतबार बिहानैदेखि बेपत्ता बालकको खोजी कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । नाल्बु घर भएका शेर्पाको परिवार हाल फुङ्लिङ नगरपालिका–२ धोक्रेस्थित हेमन्त श्रेष्ठको घरमा डेरी गरी बस्दै आएका प्रहरीले जनाएको छ ।