• २ वैशाख २०८३, बुधबार

मुस्ताङको आर्थिक गतिविधि सार्वजनिक हुने

blog

लोमन्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा घरदैलोमा पुगेर विवरण सङ्कलन गर्दै गणक ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), वैशाख २ गते । मुस्ताङमा आर्थिक गणना सुरू भएको छ । जिल्लाको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकामा खटिएका गणकले घरदैलोमा पुगेर आर्थिक गतिविधि हुने विभिन्न क्षेत्रको आधारभूत विवरण सङ्कलन सुरू गरेका हुन् । 

आर्थिक गणना कार्यालयका प्रमुख सुदीप पौडेलले गणकले आफ्नो गाउँपालिका भित्र बिहान कार्यालय समयदेखि गणनाको काम सुरू गरेको बताउनुभयो । कार्यालय प्रमुख पोडेलले भन्नुभयो, ‘‘मुस्ताङमा आर्थिक गतिविधि हुने क्षेत्रको पहिचान गरी विवरण सङ्कलन गरिन्छ, यो जिल्लाको आर्थिक गतिविधिको मापन गर्ने महत्त्वपूर्ण कार्य भएकाले सबैलाई सहयोगको अनुरोध छ ।’’ 

आर्थिक गणनाको पहिलो दिन कार्यालय प्रमुख पौडेलसहितको टोलीले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा अनुगमन तथा स्थानीय समुदायलाई राष्ट्रिय अभियानमा सहयोगको अनुरोध गरिएको छ । 

पाँच जना गणक र एक जना सुपरीवेक्षकलाई कार्यक्षेत्रमा खटाइएको छ । जिल्लामा आर्थिक गणनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया, गणक तथा सुपरीवेक्षक नियुक्ति, स्थानीयतहसँग गणना कार्य बारेमा आवश्यक सहयोग तथा समन्वय लगायतका कामहरू गरिएको छ । 

बि.स २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनामा दर्ता भए–नभएका सानाठुला व्यापार व्यवसाय, रोजगारी प्रदान, स्वरोजगार भएका फार्म, गैरसरकारी सङ्घ संस्था, सरकारी संस्थान, सरकारी तथा निजी विद्यालय, स्वास्थ्य क्षेत्रलगायत विभिन्न प्रश्नावलीबाट तथ्याङ्क सङ्कलन गर्ने छन् । 

जिल्लामा कार्यालयसहित जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित सरोकारवाला निकायले समेत अनुगमन गर्ने छन् । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले मुस्ताङले जिल्लाभित्रको आर्थिक गतिविधिबारेमा वास्तविक पहिचान हुने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । 

२०७५ सालमा लिइएको तथ्याङ्कमा मुस्ताङमा आर्थिक गतिविधि तथा सेवामा सातसय ७५ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा चार सय ९२ दर्तावालाले सञ्चालन गरेको भाडा र सम्झौतामा ६५ देखिएको थियो ।