• २ वैशाख २०८३, बुधबार

सुन्तला हेर्न आए बङ्गलादेशका व्यवसायी

blog

स्याङ्जाको सुन्तला अवलोकन गर्दै बङ्गलादेशका व्यवसायी ।

वालिङ समाचारदाता

वालिङ (स्याङ्जा), वैशाख १ गते  । सुन्तलाबारे अध्ययन गर्न बङ्गलादेशका व्यवसायीको टोली स्याङ्जा आइपुगेको छ । निकै रसिलो र स्वादिलोको पहिचान बनाएको स्याङ्जाको सुन्तलाले नेपालीलाई मात्रै होइन, विदेशीलाई पनि आकर्षण गरेको छ । स्याङ्जाका अधिकांश भागमा सुन्तला उत्पादन हुँदै आएको छ । देशका विभिन्न ठाउँ सहजै पुग्ने यहाँको सुन्तला अब विभिन्न देशमा लैजाने तयारी भएको छ । 

अर्जुनचौपारी गाउँपालिका र वालिङका विभिन्न स्थानको स्थलगत अवलोकन गरेको बङ्गलादेशका व्यवसायीको टोलीका सदस्य यहाँका कृषकले उत्पादन गरेका सुन्तलाबाट निकै प्रभावित भएका छन् । बङ्गलादेशका व्यवसायीले आगामी वर्ष यहाँको सुन्तला बङ्गलादेशका उपभोक्तासमक्ष पु¥याउने योजना बनाएको जिल्लाका अगुवा कृषक फणिनारायण अर्यालले बताउनुभयो । केही दशकपहिले आफूले सुन्तला बङ्गलादेश पठाएको जानकारी दिँदै अर्जुनचौपारी गाउँपालिका–१ स्थित त्रिपुत्र बागवानी कृषि फार्मका सञ्चालक अर्यालले आगामी दिनमा सहज रूपमा पठाउन पाइने भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तेस्रो मुलुकका रूपमा बङ्गलादेशमा नेपाली सुन्तलाको राम्रो माग छ तर सहज रूपमा पु¥याउन सकिएको छैन, आगामी वर्ष धेरै मात्रामा पठाउने योजना रहेको छ ।” हेफर नेपाल र हेफर बङ्गलादेशको सहकार्यमा सहज रूपमा पठाउने योजना बनेको उहाँले जानकारी दिनुभयो । 

सुन्तला उत्पादन र यहाँको वातावरणको वास्तविक अवस्था अनुगमन गर्न बङ्गलादेशको व्यवसायीको टोली जिल्लाका विभिन्न स्थानमा रहेका सुन्तला खेतीको स्थलगत अवलोकन गरेको छ । व्यवसायीको टोली लिएर नेपाल आएका हेफर बङ्गलादेशका कार्यक्रम प्रबन्धक आशिक एकबालले आगामी वर्ष स्याङ्जाको सुन्तला बङ्गलादेशका उपभोक्तासमक्ष पु¥याउने योजना रहेको बताउनुभयो । हेफरले कार्यक्रम सञ्चालन गरेका पालिकासँगको सहकार्यमा सुन्तलाको बजारीकरण गरिने उहाँको भनाइ छ । 

स्याङ्जाको सुन्तलाले आफूहरूको ध्यान तानेको बङ्गलादेशका व्यवसायी गाजी ताउहिदुर रहमानले बताउनुभयो । आवश्यक प्रक्रिया पूरा गरेर आगामी वर्षबाट सुन्तला आफ्नो देशमा लैजाने उहाँको भनाइ छ । बङ्गलादेशमा अचार तथा फलफूलको व्यवसाय गर्दै आएका सोहिल अमनले नेपालको सुन्तलाको चर्चा धेरै सुनेको भन्दै सुन्तला बारीको प्रत्यक्ष अनुगमनबाट आफूहरू उत्साहित भएको बताउनुभयो । 

स्याङ्जाको वालिङ, भिरकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा स्थानीय पालिकाको सहकार्यमा हेफर प्रोजेक्टले काम गरिरहेको छ । कार्यक्रम सञ्चालन भएका पालिकासँगको सहकार्यमा सुन्तलाको अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिने हेफर प्रोजेक्ट नेपालका बजार विकास प्रमुख डा. राजकुमार अधिकारीले बताउनुभयो । 

यसैबिच वालिङमा विभिन्न सुन्तला उत्पादक महिला स्वावलम्बी समूहले सामूहिक बजारीकरणमा काम गर्दै आएका छन् । उनीहरूले सुन्ताला जोखेर बेच्ने अभियानलाई अगाडि बढाएका छन् । जस कारण बगैँचा ठेक्का लिने सुन्तला व्यवसायी अब सुन्तला जोखेर लिन थालेका हुन् । 

उत्पादन वृद्धि हुँदै  

स्याङ्जामा गएको मौसममा एक अर्ब ३२ करोड रुपियाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको थियो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा गएको वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यहाँ उत्पादन भएको सुन्तला थोकमा प्रतिकेजी ५७ रुपियाँका दरले बिक्री भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा गत वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गएका वर्षको तुलनामा सुन्तला बढी उत्पादन हुने अनुमान गरिएको छ ।