• १ वैशाख २०८३, मङ्गलबार

‘स्वास्थ्यमा नागरिकको पहुँच बढ्दै’

blog

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर अन्तर्क्रियामा । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, वैशाख १ गते  । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले देश सङ्घीयतामा गएसँगै नागरिकको स्वास्थ्य सेवामाथिको पहुँच बढ्दै गएको बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ नीतिको कार्यान्वयनसँगै विगतका जिल्ला अस्पताल रिफर अस्पतालका रूपमा रहेकोमा प्रादेशिक अस्पताल बनेपछि विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालमा परिणत भएको भन्दै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो । 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पादन गरेका कार्यबारे अन्तक्रियामा उहाँले स्वास्थ्य नीति कार्यान्वयन गर्न निर्देशिका जारी गरिएको बताउनुभयो । उहाँले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको योजनाका रूपमा अगाडि बढेको बताउनुभयो । 

स्थानीय तहले सञ्चालन गरेका आधारभूत अस्पताल जनशक्ति अभावका कारण समस्या भइरहेको अवस्थामा प्रदेश सरकारले जनशक्ति उत्पादन गरेर ती आधारभूत अस्पतालमा पठाउने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।  “नागरिकलाई स्वस्थ बनाउन स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी होइन, अन्य मन्त्रालयको पनि त्यतिकै भूमिका रहन्छ,” उहाँले भन्नुभयो । 

प्रदेश सरकारले अन्य मन्त्रालयलाई पनि जोडेर स्वास्थ्य नीतिमा स्वास्थ्य निर्देशिका जारी गरिएको छ, उहाँले अगाडि भन्नुभयो, “कम्तीमा दैनिक आठ जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले सडक निर्माण गर्दा त्यो सुरक्षित हुनु प¥यो, त्यसको गति नियन्त्रण गर्नु प¥यो, त्यो गर्न सकेमा सडक दुर्घटनामा न्यूनीकरण हुन्छ ।”

खानेपानी मन्त्रालयले पानीमा कोलिफर्म र आइरनको परीक्षण गर्न जनस्वास्थ्य कार्यालयमा रहेको प्रयोगशालाको प्रयोग गर्नु पर्छ । उहाँले भन्नुभयो, “योजना छनोट गर्दा नै परीक्षण गरेर पिउन योग्य भएको पानीको योजना मात्र कार्यान्वयन गर्नु पर्छ । खानेपानी मन्त्रालयको पनि यसमा जिम्मेवारी रहेकाले हामी समन्वय गरेर अगाडि बढेका छौँ ।” उहाँले हरेक वर्ष किड्नीका बिरामी बढेका बताउँदै कृषिजन्य वस्तुमा विषादी मिसिएकाले सर्वसाधारणमा रोग बढदै गएको बताउनुभयो । उहाँले कृषि मन्त्रालयले तरकारी तथा फलफूलमा मिसाइने विषादीलाई नियन्त्रण गर्दै विषादीरहित तरकारी तथा फलफूल उत्पादन गर्नुपर्नेम जोड दिँदै यसमा स्वास्थ्य मन्त्रालयले सहकार्य गरेर जाने बताउनुभयो । 

मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले आधारभूत स्वास्थ्य सेवा नागरिकको अधिकार भएको भन्दै प्रादेशिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो । उहाँले स्वास्थ्य विपत् पूर्वतयारी तथा प्रतिकार्ययोजना सबै मन्त्रालय, अस्पताल र जनस्वास्थ्य कार्यालयमा तयार भएको भन्दै प्रदेश मातहतका १३ वटै अस्पतालबाट विशेषज्ञ मानसिक स्वास्थ्य सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।