सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, वैशाख १ गते । पछिल्लो समय निर्माण सामग्रीमा लगातार भइरहेको मूल्यवृद्धिले सिन्धुली जिल्लामा विकास निर्माणका काम प्रभावित भएका छन् ।
इन्धनको मूल्य बढेसँगै निर्माण सामग्रीको अभाव र महँगी बढ्दा अधिकांश आयोजना प्रभावित बनेका हुन् । निर्माण व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष उद्धव दाहालका अनुसार दैनिक जसो निर्माण सामग्रीको मूल्य बढ्दै जाँदा काम सञ्चालन गर्नै कठिन भएको छ । “आज किनेको सामान भोलि त्यही मूल्यमा पाइँदैन,” उहाँले भन्नुभयो, “पहिले प्रतिबोरा सात सय रुपियाँमा पाइने सिमेन्ट अहिले ८५० रुपियाँ पुगेको छ । डन्डी (रड) प्रतिकेजी ९२/९३ रुपियाँबाट बढेर १०७ रुपियाँ पुगेको छ ।”
उहाँका अनुसार निर्माण सामग्रीको अप्रत्यासित मूल्यवृद्धिले विशेष गरी साना निर्माण व्यवसायीलाई बढी मार परेको छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने दुई करोड रुपियाँँसम्मका योजनामा मूल्य समायोजन नहुने हुँदा साना ठेकेदार समस्यामा परेका छन् । जिल्लामा हाल एक सयभन्दा बढी साना निर्माण व्यवसायी सव्रिmय छन् ।
मूल्यवृद्धिसँगै बिटुमिनको अभावले सडक निर्माण झन् प्रभावित बनेको छ । वर्तमान जिल्ला दर अनुसार सामग्री खरिद गरेर योजना सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन् । यस्तै स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सहरी तथा भवन कार्यालय, खानेपानी डिभिजन कार्यालय, सिँचाइ विकास डिभिजन कार्यालयमार्फत सञ्चालन भइरहेका अधिकांश विकास आयोजना मूल्यवृद्धिको प्रत्यक्ष असरमा परेका छन् ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार कार्यालयद्वारा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका ११८ वटा योजनामा मूल्यवृद्धिको प्रभाव देखिएको छ । “सबै योजना सम्झौता भइसकेर काम भइरहेको भए पनि लागत बढ्दा प्रगति प्रभावित हुने देखिएको छ,” उहाँले भन्नुभयो ।
कार्यालयका अनुसार यस वर्ष ९७ वटा साना योजना, ११ वटा पक्की पुल र १० वटा सडक योजना सञ्चालनमा छन् । “व्यवसायीहरू काम गर्न गाह्रो भएको भन्दै पटक पटक सम्पर्क गरिरहनुभएको छ,” उहाँले थप्नुभयो, “तर सम्झौता अनुसार समयमै काम सम्पन्न गर्नुपर्ने बाध्यता पनि छ ।” इन्धनको मूल्यवृद्धिले ढुङ्गा, गिटी र बालुवा जस्ता नदीजन्य निर्माण सामग्रीको मूल्यसमेत बढाएको छ । यसले निजी आवास निर्माण गर्न चाहने सर्वसाधारणसमेत अन्योलमा परेका छन् । कमलामाई नगरपालिका–४ का रामु भुजेलका अनुसार निर्माण सामग्री महँगो हुँदा घर बनाउने योजना बनाएका सर्वसाधारणसमेत अन्योलमा परेका छन् ।