अनिल पराजुली
हेटौँडा, वैशाख १ गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ उत्साह र उमङ्गका साथ अघि बढ्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
नयाँ वर्ष २०८३ सालको अवसरमा मङ्गलबार शुभकामना दिँदै उहाँले देशले विकास र समृद्धिको नयाँ काँचुली फेर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सुशासन र न्यायको स्थापना भई हरेक नेपालीले गर्व गर्न लायक राष्ट्र निर्माणको आधार तयार हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले युवा शक्तिलाई आफ्नै माटोमा अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। नयाँ वर्ष परिवर्तन र आशाको प्रतीक भएको उल्लेख गर्दै उहाँले यसले जीवनमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रदेश प्रमुख देवकोटाले यो वर्ष केवल पात्रो परिवर्तनमा सीमित नभई देशको मुहार फेर्ने सङ्कल्पको वर्ष बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले सुशासन, आर्थिक स्थिरता र दिगो विकासतर्फ मुलुक अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
देशको मेरुदण्ड राजनीतिक स्थिरता र आर्थिक विकास रहेको उल्लेख गर्दै उहाँले स्पष्ट नीति र दूरदृष्टि भए मात्र समृद्धि हासिल गर्न सकिने बताउनुभयो। नयाँ वर्ष २०८३ का अवसरमा उहाँले बागमती प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। साथै आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम राख्दै देश विकासमा इमानदारीपूर्वक लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।