• १ वैशाख २०८३, मङ्गलबार

नव वर्षले एकता र आपसी सद्भाव कायम राख्नेः मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

राममणि दाहाल
मकवानपुर, वैशाख १ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नव वर्षले एकता र आपसी सद्भाव कायम राख्न सहयोग पुग्ने बताउनुभएको छ ।

नव वर्ष २०८३ को अवसरमा मङ्गलबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले नव वर्षको यस सुरुवातले हामी नेपालीबिच बन्धुत्व, एकता र आपसी सद्भाव कायम राख्न थप मद्दत पुर्‍याउनेछ विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिएको सुन्दर देश भएको भन्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नै हाम्रो साझा पहिचान भएको बताउनुभएको छ ।

बागमती प्रदेश सरकार हाम्रा मौलिक परम्परा र संस्कृतिहरूको संरक्षण गर्दै ’समृद्ध प्रदेश’ निर्माणको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित छ उहाँले सन्देशमा भन्नुभएको छ, वैशाख १ गते, नयाँ वर्ष २०८३ साल प्रारम्भको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू तथा बागमती प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गरिबमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी, विकासमुखी र जनमुखी लक्ष्य सहित नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयताको कार्यान्वयनमा तिनै तहका सरकार सञ्चालनमा आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्दै अगाडि बढ्न अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

भ्रष्टाचारमुक्त–सुशासनयुक्त, जबाफदेही, उत्तरदायी र जिम्मेवार – बागमती प्रदेश सरकारले हामी बिचको सामाजिक सद्भाव कायम गर्दै जनअपेक्षा अनुरूप नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा राख्दै मुख्यमन्त्री बानियाँले समस्त प्रदेश, देश र विदेशवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः नव वर्ष २०८३ साल सुख, शान्ति, समृद्धि, खुसी र सु–स्वास्थ्यको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।