• १ वैशाख २०८३, मङ्गलबार

बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिने

blog

बैठकमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरी। तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १ गते ।
बाँके जिल्लामा विभिन्न प्रकारका नियमित खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी खोप लगाएर आगामी वैशाख महिनामा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा भएको नियमित खोप कार्यक्रमसम्बन्धी सरोकारवालासँगको पैरवी बैठकमा उक्त निर्णय गरिएको स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो।

उहाँका अनुसार बाँकेमा नियमित खोप लगाउनुपर्ने बालबालिकामध्ये करिब १५ प्रतिशत ‘ड्रप आउट’ रहेको पाइएको छ। यसरी छुटेका सबै बालबालिकाको खोजी गरी वैशाख महिनामा जिल्लाका आठवटै पालिकाले पूर्ण खोप पालिका घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो।

खोप लगाउन छुटेका बालबालिकामध्ये मुस्लिम समुदायका बालबालिकाको संख्या बढी देखिएकोले सो समुदायलाई विशेष रूपमा लक्षित गर्दै खोजी अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैठकको अध्यक्षता गर्दै खोप लगाउने उमेरका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने गरी काम गर्न स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले स्वस्थ र सुदृढ नागरिक निर्माणमा खोप कार्यक्रम अत्यन्त प्रभावकारी र महत्त्वपूर्ण भएकाले नियमित खोपबाट कोही पनि छुट्न नहुनेमा जोड दिनुभयो।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बैठकमा जिल्लाको खोपसम्बन्धी अवस्थाबारे प्रस्तुति दिँदै जन्मेदेखि नै बालबालिकालाई सबै खोप उपलब्ध गराउन अधिकतम प्रयास भए पनि केही छुटेकाले उनीहरूको खोजी आवश्यक रहेको बताउनुभयो। उहाँले खोपले विभिन्न रोगबाट बालबालिकालाई जोगाउने भएकाले यसको महत्वबारे समुदायमा अझै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

मदरसा बरकातियाका प्रधानाध्यापक तथा मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा नुरानीले मुस्लिम समुदायमा अशिक्षा र चेतनाको अभावका कारण केही बालबालिका खोपबाट छुटेको हुनसक्ने बताउँदै सबै बालबालिकालाई खोप लगाउन आफूहरूले प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकमा जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्की, जानकी गाउँपालिकाकी उपप्रमुख रामप्यारी यादव, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल, कोहलपुर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा लगायत आठवटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।