गुणबहादुर रोका
सुलीकोट, चैत २७ गते । नेपाली सेनाले शुक्रबारदेखि चौथो गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ। ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण तथा इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको नेपाली सेनाको रुद्रध्वज गणका गणपति बिओध रिजालले बताउनुभयो।
पदयात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सैनिक सहभागी छन्। पृथ्वीनारायण शाहको समयमा स्थापना भएका कालीबक्स, सबुज, श्रीनाथ, बर्दबहादुर, पुरानो गोरख र जितगढीको लडाइँमा सहभागी गुरुबक्स पल्टनका झल्को दिने गरी विभिन्न पल्टनका टोलीहरू आ–आफ्नो झन्डासहित यात्रामा निस्किएका हुन्, गणपति रिजालले बताउनुभयो।
गोरखाबाट सुरु भएको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई झन्डा हस्तान्तरण गर्नेछ। तनहुँले पाल्पालाई, पाल्पाले रुपन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। रुपन्देहीको टोली अन्ततः जितगढी पुगेर विजय उत्सवमा सहभागी हुने जनाइएको छ।
रुद्रध्वज गणका गणपति रिजालका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सवका रूपमा मनाउँदै आइएको छ। सोही उत्सवमा सहभागी हुने उद्देश्यले पदयात्रा सुरु गरिएको हो।
गोरखा दरबारबाट सुरु गरिएको उक्त पदयात्रा ११ दिनमा करिब २०७ किलोमिटर दूरी पार गर्दै जितगढीसम्म पुग्नेछ। यो यात्राले गोरखादेखि जितगढीसम्मको पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
गोरखाको पर्यटन प्रवर्धनमा एकीकरण पदयात्राले महत्वपूर्ण योगदान पुर्याउने भएकाले स्थानीय तहहरूले सहजीकरण गरेको पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तनले बताउनुभयो।
यात्रामा सहभागीलाई प्रत्येक स्थानीय तह र जिल्लाको सीमामा जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बिदाइ गरिने जनाइएको छ। गोरखामा रहेका ११ वटै स्थानीय तहको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको रुद्रध्वज गणले जनाएको छ।
गोरखाबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर समापन हुनेछ।
गोरखा दरबारमा आयोजित कार्यक्रममा पश्चिम पृतनापति उपरथी भोलानाथ थापा र गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्त रूपमा झन्डा हस्तान्तरण गरी पदयात्रा टोलीलाई बिदाइ गर्नुभएको थियो।