भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), चैत २७ गते । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को अवरोधले गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकले जमिन भोगचलन गर्न नपाएको गुनासो गरेका छन् । विगत छ दशकदेखि दसगजा क्षेत्रमा लालपुर्जासहितको जमिनमा खेती गर्दै आएका यहाँका कृषकले पछिल्लो केही वर्षयता भोगचलन गर्नबाट वञ्चित पारिएको गुनासो गरेका हुन् ।
बेलौरी नगरपालिका–१०, सडकघाटका स्थानीय कृषक सुरेश चौधरीले विगत छ दशकदेखि नेपाल–भारत सीमा क्षेत्रको नेपालतर्फ १३ कट्ठा लालपुर्जासहितको जग्गामा खेती गर्दै आउनुभएको थियो तर विगत चार वर्षयता भने दसगजानजिकको १० मिटर चौडाइ तथा पाँच सय मिटर पूर्वी लम्बाइको जमिनमा भारतीय एसएसबीले भोगचलन गर्न नदिएको उहाँ गुनासो गर्नुहुन्छ ।
विगतमा उखु खेती गर्दै आउनुभएका चौधरीले विसं २०७८ सालयता १३ कट्ठा जमिन बाझो छोड्नु परेको गुनासो गर्नुभयो । सरकारलाई बर्सेनि मालपोत तिर्दै आएको बताउँदै उहाँ जमिन उपभोग गर्न नपाउदा घरखर्च धान्नसमेत मुस्किल परेको गुनासो गर्नुहुन्छ । खेती गर्न जाँदा भारतीय एसएसबीले बन्दुक तर्साएर धपाउने गरेको उहाँले गुनासो गर्नुभयो ।
सडकघाटकै अर्का स्थानीय सन्तोषी चौधरीले पनि दसगजा क्षेत्रमा नेपालतर्फको १२ कट्ठा भूमिमा खेती गर्न नदिइएको गुनासो गर्नुभयो । भारतीय एसएसबीलाई बारम्बार जमिन दिन गुहार गरे पनि भोगचलन गर्न नदिँदा जमिन बाँझो परेको उहाँले गुनासो गर्नुभयो । विगतका वर्षमा धान, उखु, गहुँ, दलहन खेती गर्दै आएका उहाँ भारतीय एसएसबीको अवरोधले गर्दा खेती गर्न नपाएपछि खाद्यान्न किनेर खानुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ ।
जमिन उपभोग गर्न पाउनुपर्ने मागसहित नगरप्रमुख, वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारीसँग पनि आग्रह गरिएको बताउँदै उहाँले कतैबाट पनि समस्या समाधान नभएको दुःखेसो पोख्नुभयो ।
सोही ठाउँका स्थानीय कमला चन्दले लालपुर्जासहितको एक बिघा जमिन भारतीय एसएसएबीको अवरोधका कारण उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । स्थानीय भक्तिलाल चौधरीले दसगजा क्षेत्रको चार कट्ठा जमिन उपभोग गर्न नदिइएको गुनासो गर्नुभयो । विगत पाँच दशक लालपुर्जा जमिनमा खेती गर्दै आएको बताउँदै उहाँले चार वर्षदेखि एसएसबीले अवरोध गर्दा जमिन बाँझो छोड्नु परेको गुनासो गर्नुभयो ।
भारतीय एसएसबीले २०७८ सालदेखि बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा क्षेत्र पिल्लर नम्बर ३५ देखि पूर्वतर्फ पिल्लर नम्बर ३६ सम्मका एक दर्जन स्थानीयलाई लालपुर्जा जमिनमा भोगचलन गर्न अवरोध सिर्जना गर्दै आएको यहाँका स्थानीय गुनासो गर्छन् ।
एसएसबीले स्थानीयसँगको विवादका कारण सो क्षेत्रमा खेती गर्न अवरोध सिर्जना गर्दै आएको बुझिएको वडा नं. १० का वडाध्यक्ष सोमलाल चौधरीले बताउनुभयो । वडाध्यक्ष चौधरीका अनुसार भारतीय एसएसबीले मनलाग्दी तवरले नेपालीलाई जमिन उपभोगमा अवरोध सिर्जना गरिरहेका छन् । एकतर्फी रूपमा एसएसबीले दसगजा क्षेत्रमा स्थानीय रामप्रसाद चौधरीको जमिनभन्दा पश्चिमतर्फको जमिन भोगचलन गर्न दिए पनि पूर्वतर्फको जमिन भने प्रयोग गर्न नदिएको उहाँले बताउनुभयो ।
स्थानीय कृषकका गुनासोपछि भारतीय एसएसबीसँग छलफल गरिएको बताउँदै वडाध्यक्ष चौधरीले स्थानीयसँगको विवादपछि एसएसबीले अवरोध सिर्जना गरेको बताउनुभयो । एसएसबीले सो क्षेत्रका स्थानीयलाई भोगचलन गर्न नदिने अडान लिएको उहाँको भनाइ छ ।
चार वर्ष पहिले सडकघाटका एक स्थानीय महिला कृषकले दसगजानजिकको जमिनमा काटेर राखेको धानबाली भारतीय एसएसबीले कुल्चिएपछि विवाद सुरु भएको वडाध्यक्ष चौधरीको भनाइ छ । सोही विवादपछि सो आसपासका एक दर्जन स्थानीयको झन्डै पाँच बिघा जमिन भोगचलनमा एसएसबीले अवरोध गर्दै आएको उहाँले बताउनुभयो ।
भारतीय एसएसबीले गरेको अवरोधका कारण जमिन बाँझो छोड्नु परेको समस्या समाधानका लागि नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो तर सरकारका तर्फबाट ठोस पहल नहुँदा कृषक जमिन भोगचलन गर्नबाट वञ्चित रहेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लवराज भट्टले दुई देशबिचका सीमाविद् बसेर समस्या समाधान गर्नु अपरिहार्य रहेको बताउनुभयो ।
भारतीय हस्तक्षेपले कृषकलाई जीविकोपार्जन गर्नसमेत समस्या भोग्नु परेकाले सरकारले कूटनीतिक तवरले समस्या समाधान गर्न उहाँले माग गर्नुभयो ।
यसैबिच बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले भारतीय पक्षले नेपालीलाई जमिन भोगचलनमा अवरोध गर्दै आएकोले सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । “नेपालीको हातमा लालपुर्जा छ तर भोगचलन गर्न पाएका छैनन्,” उहाँले भन्नुभयो, “सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सभामुख र सदनमार्फत सरकारसँग माग गर्दछु ।”