• २७ चैत २०८२, शुक्रबार

अपूरा योजना खोज्दै प्रदेश सरकार

blog

वराहताल गाउँपालिका सुर्खेत । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, चैत २७ गते । कर्णाली प्रदेश सरकारले अपूरा आयोजना निर्माण गर्ने नीति लिएको छ । प्रदेशमा निर्माण थालिएका आधाभन्दा धेरै योजना अधुरै छन्, त्यसलाई खोज्ने काम सरकारले सुरु गरेको छ ।  निर्माण सुरु भएर बर्सौंसम्म आयोजना अलपत्र पर्ने गरेका धेरै उदाहरण छन् । शैक्षिक पूर्वाधार निर्माणमा सबैभन्दा धेरै यस्तो समस्या देखिएको बताइएको छ । बेला बेला भइरहने सरकार परिवर्तन तथा बजेट अभावमा अलपत्र बनेका पूर्वाधार निर्माण गर्न लागिएको हो । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना ल्याएको छ । एउटा सरकारले निर्माण थालेका योजना अर्को सरकारले निरन्तरता नदिने हुँदा सयौँ पूर्वाधार अलपत्र बनेका छन् । आवश्यकता र निर्माणको अवस्था हेरेर यो वर्ष अधुरा भवन पहिचान गर्ने र काम अघि बढाइने भएको छ । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले समेत विभिन्न समयमा अनुगमन गरेर अपूरा योजनाको विवरण माग गर्ने गर्नुभएको छ । राज्यको लगानी खेर जानबाट रोक्न अपूरा आयोजना सम्पन्न गर्ने नीति अवलम्बन गरिएको मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो । प्रदेश सरकारले आयोजना निर्माण गर्दा देखिएका समस्या समाधानमा पहल गर्ने तथा अधुरा रहेका आयोजनालाई आवश्यकताका आधारमा पूरा गर्ने नीति लिएको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटमा समेत यस्ता योजनालाई समावेश गर्ने जनाएको छ । 

गाउँपालिकाले गर्दै छ विवरण सङ्कलन

पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाले अधुरा आयोजनाको विवरण सङ्कलन कार्य सुरु गरेको छ । गाउँपालिकाले पालिकाभित्र निर्माण सम्पन्न हुन नसकेका अधुरा विकास योजनाहरूको यथार्थ विवरण सङ्कलन गर्न लागेको जनाएको छ ।  राज्यको लगानी खेर जान नदिन अपूरा आयोजनाको विवरण सङ्कलन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीका अनुसार सबै वडामा तीन तहका सरकारको लगानीमा रहेका योजनाले विवरण सङ्कलनको काम गरिने छ । वडा नं. १ देखि १० सम्म सङ्घीय, प्रदेश तथा स्थानीय तहको बजेटबाट सुरु भएका तर अहिलेसम्म पूरा नभएका योजनाको अवस्था पत्ता लगाउन सबै वडा कार्यालयलाई निर्देशन दिइएको जनाइएको छ । 

केही आयोजनाको निर्माणमा देखिएका समस्या सुल्झाइने, बाँकी कामलाई सम्पन्न गर्ने र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जोड्ने गरी विवरण सङ्कलनको काम अघि बढाइएको छ ।  गाउँपालिकाले अपूरा योजना पहिचान गरी निर्माण कार्य प्रभावकारी बनाउन र समयमै सम्पन्न गराउन विवरण सङ्कलन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । पालिकामा धेरै योजना अलपत्र अवस्थामा रहेकाले यथार्थ विवरण सङ्कलन गर्न लागिएको हो । सङ्कलनका क्रममा योजनाको नाम, स्थान, बजेट स्रोत, हालको अवस्था, निर्माण सुरु मिति, सम्पन्न हुनुपर्ने मिति, भुक्तानी अवस्था र अधुरो हुनुका कारण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । 

विवरण तोकिएको ढाँचामा तयार गरी गाउँपालिकामा पेस गर्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ । एउटै वडामा समेत धेरै योजना अलपत्र पर्न थालेपछि पालिकाले यो कदम चालेको हो । तीन तहका सरकारले बजेटको स्रोत सुनिश्चित नगरी योजना निर्माणको काम थाल्दा अपूरा हुने गरेका छन् । अहिले पालिकाले उक्त योजनाको विवरण सङ्कलन गर्न लागेको हो । यो महिनाभरि विवरण पालिकामा बुझाइसक्नुपर्ने छ ।