• २७ चैत २०८२, शुक्रबार

होटल पौवाको स्वाद उत्सव सुरु

blog

स्वाद उत्सवमा निःशुल्क परिकार वितरण गर्दै होटलका कर्मचारी। तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २७ गते ।
नेपालगन्जस्थित होटल पौवाले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा ‘स्वाद उत्सव’ सुरु गरेको छ। ग्राहकलाई पौवाका विभिन्न परिकार निःशुल्क चखाउने उद्देश्यले स्वाद उत्सव आयोजना गरिएको होटल पौवाका महाप्रबन्धक गिरीराज पाण्डेले बताउनुभयो।

उहाँका अनुसार होटल पौवाको नेपालगन्जसहित देशभरका २० वटै शाखामा एकैसाथ स्वाद उत्सव सुरु गरिएको हो।

पाँचतारे होटल निर्माणको लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको नेपालगन्ज शाखामा सुरु गरिएको स्वाद उत्सवको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ओलीले पौवाले छोटो समयमा आफूलाई राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय धेरै उपभोक्ताको पहिलो रोजाइ होटल पौवा बन्न पुगेको छ।

उहाँले यो विश्वासलाई कायम राख्न पौवा व्यवस्थापनलाई आग्रह गर्दै स्वाद उत्सवले होटलको पहिचान थप स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो।

होटल पौवा नेपालगन्जका महाप्रबन्धक पाण्डेले १० वर्षको अनुभवबाट सिक्दै ग्राहकलाई थप सन्तुष्टि र अपनत्व प्रदान गर्न पौवा टिम प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस अवधिमा धेरै अनुभव हासिल भएको उल्लेख गर्दै अब अझ बढी सेवाभावका साथ अघि बढ्ने बताउनुभयो।

होटल पौवाका अनुसार देशभरका २० शाखामा करिब ४० हजारभन्दा बढी ग्राहकलाई स्वाद उत्सवमा सहभागी गराई विशेष परिकार चखाइनेछ।

तीन दिनसम्म सञ्चालन हुने स्वाद उत्सवमा पौवामा तयार गरिएका विभिन्न परिकार ग्राहकलाई निःशुल्क प्रदान गरिने होटल पौवा नेपालगन्जका जनसम्पर्क विभाग प्रमुख नेत्र भण्डारीले बताउनुभयो। उहाँका अनुसार प्रत्येक दिन फरक–फरक स्वाद चखाइने व्यवस्था गरिएको छ।