भैरहवा समाचारदाता
भैरहवा, चैत २७ गते । रुपन्देही र कपिलवस्तु जोड्ने बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजना तीव्र गतिमा अघि बढेको छ । बहुवर्षीय सडक विस्तार आयोजना चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिई कार्यान्वयन गरिरहेका छन् ।
गत असार ११ गते सम्झौता भएको उक्त आयोजना अन्तर्गत तीन वर्षभित्र २०८४ कात्तिक ३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले २०८१ कात्तिक १२ गतेदेखि काम सुरु गरेका हुन् । सडक विस्तारलाई ५० किलोमिटर दुरीमा दुई खण्डमा विभाजन गरिएको छ । बुटवल–सालझन्डी २५ किमी पहिलो खण्ड र कपिलवस्तुतर्फ गोरुसिङ्गेसम्म २५ किमी दोस्रो खण्ड अन्तर्गत काम भइरहेको छ । पहिलो खण्डको लागत सात अर्ब ८९ करोड रुपियाँ र दोस्रो खण्डको पाँच अर्ब ६६ करोड रुपियाँ छ ।
आयोजनाका सूचना अधिकारी अशोक पौडेलका अनुसार फागुन अन्त्यसम्म पहिलो खण्डमा २१.३३ प्रतिशत भौतिक र करिब १९ प्रतिशत वित्तीय प्रगति भएको छ । दोस्रो खण्डमा २३ प्रतिशत भौतिक र १७.६५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
विस्तारपछि सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र वनक्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण हुने छ । सडकलाई आधुनिक र सुरक्षित बनाउन फ्लाइओभर, अन्डरपास, आकासे पुल तथा वन्यजन्तु क्रसिङ निर्माण भइरहेका छन् ।
पहिलो खण्डमा ११ किलोमिटरमा माटो भर्ने, दुई किलोमिटरमा ग्राभेल तथा विभिन्न स्थानमा फ्लाइओभर निर्माण भइरहेको छ । यस खण्डमा २० पुल र ६७ कलभर्ट निर्माण हुनेमध्ये अधिकांशको काम अघि बढेको छ । दोस्रो खण्डमा १४ किलोमिटरमा माटो भराई, छ किलोमिटरमा ग्राभेल, नौ वटा पुल निर्माण तथा अन्य संरचनाको काम जारी छ ।
सडक विस्तारका लागि करिब सात हजार रुख काटिएको थियो । अन्य आयोजनामा ढिलाइ हुने यो प्रक्रिया आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेको सक्रियतामा छिटो सम्पन्न भएको आयोजनाले जनाएको छ । सडक क्षेत्रमा पर्ने संरचना हटाउने काम पनि सम्पन्न भइसकेको छ ।
बुटवल–नारायणगढ सडक विस्तारमा देखिएको सास्ती दोहोरिन नदिन यस आयोजनामा बिचको सडक भत्काउनुअघि दायाँबायाँ संरचना निर्माण गर्ने रणनीति अपनाइएको छ ।
सडकलाई वन्यजन्तुमैत्री बनाउने लक्ष्यसहित १८ वटा अन्डरपास, छ वटा ओभरफ्लाई, १२ वटा पैदल अन्डरपास र ११ वटा ओभरहेड ब्रिज निर्माण गरिने भएका छन् । मुख्य चोकमा सवारीसाधनका लागि अन्डरपास निर्माण गरी यातायात व्यवस्थापन सहज बनाइने छ ।