• २७ चैत २०८२, शुक्रबार

माटोका छाना भएको स्याङ गाउँको होमस्टे पर्यटकको प्रतीक्षामा

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङमा सञ्चालित होमस्टे। तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २७ गते ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँकी उमा थकालीले सञ्चालन गरेको घरबास (होमस्टे) सिजनमा व्यस्त हुने गरेको छ। पर्यटक सिजनमा मुस्ताङका होटलहरू खचाखच भरिए पनि नियमित पर्यटकको आगमनको प्रतीक्षामा होमस्टे रहेको छ। बेनी–जोमसोम सडकमार्गदेखि करिब डेढ सय मिटरको दूरीमा रहेको स्याङ गाउँका ६ घरधुरीले होमस्टे सञ्चालन गरेपछि जोमसोम नजिकैको ग्रामीण बस्तीमा आउने पाहुनाहरू आकर्षित हुने गरेका छन्।

माटोका छाना भएका परम्परागत घरसहित करिब १५० घरधुरी रहेको गाउँको मुख्य आम्दानीको स्रोत कृषि तथा पशुपालन हो। अल्पसंख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली प्रस्तुत गर्नका लागि होमस्टे सञ्चालन गरिएको स्याङखोला थकाली सामुदायिक होमस्टेका सदस्य उमा थकालीले बताउनुभयो। उहाँले भन्नुभयो, “सिजनमा मात्रै पर्यटक आउने भएकाले होमस्टेको क्षमता विस्तार गर्न सकिएको छैन। एकपटक आउने पर्यटक यहाँको सेवा र सत्कारका कारण फेरि–फेरि आउनुहुन्छ।”

स्थानीय ६ घरमा होमस्टे मापदण्डअनुसारको सुविधा रहेको र स्थानीय उत्पादन नै सामुदायिक होमस्टेको मुख्य पहिचान बनेको थकालीले बताउनुभयो। होमस्टेमा दैनिक करिब २० जना पाहुना राख्न सक्ने क्षमता रहेको छ।

स्थानीय असिता थकालीले होटलमा कोठा नपाएपछि मात्रै होमस्टे खोज्ने पर्यटकका कारण लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो। उहाँका अनुसार नियमित पर्यटकको आगमन सुनिश्चित भए सिंगो गाउँलाई नै होमस्टेमा रूपान्तरण गर्न सकिने सम्भावना छ।

प्रकृति र संस्कृतिले सम्पन्न स्याङ गाउँमा रातो (रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातका स्याउका बगैंचा, बौद्ध धर्मगुरु रिम्पोचेको सालिक तथा जंगली जनावर नाउरको प्रतिमा रहेको उद्यानसमेत छ। गाउँमा ३० घरधुरीले व्यवसायिक पशुपालन गर्दै आएका छन् भने दैनिक बिहान र साँझ गरी करिब चार सय लिटर दूध बिक्री हुने गरेको छ।

कृषि र पशुपालन अवलोकन गर्न सकिने स्याङ गाउँलाई नमुना होमस्टे गाउँ बनाउन आवश्यक पूर्वाधार विस्तारमा गाउँपालिका सक्रिय रहेको अध्यक्ष मोहनसिं लालचनले बताउनुभयो। उहाँले भन्नुभयो, “मुस्ताङका गाउँहरू होमस्टेका लागि उपयुक्त छन्। शान्त वातावरणमा रमाउन चाहने पर्यटकलाई आकर्षित गर्न सकिन्छ।”

गाउँपालिकाले तालिम, अध्ययन अवलोकन भ्रमण तथा पूर्वाधार विस्तारमार्फत पर्यटकलाई आकर्षित गर्ने र होमस्टेसम्म पहुँच सहज बनाउने योजनासहित काम गरिरहेको अध्यक्ष लालचनले जानकारी दिनुभयो।

स्याङ गाउँबाट नीलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फा बजार र स्याउबारीको दृश्य देखिन्छ। गाउँ आसपासमा ध्यान बस्न मिल्ने कोठासहितका प्राचीन गुफाहरू पनि रहेका छन्।