• २७ चैत २०८२, शुक्रबार

हुम्लामा ४८ प्रतिशतभन्दा बढी योजना सम्झौता हुन बाँकी

blog

सिमकोट गाउँपालिकाको कार्यालय। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २७ गते ।
आर्थिक वर्ष समाप्त हुन तीन महिना केही दिन मात्र बाँकी रहँदा सिमकोट गाउँपालिकाले वार्षिक कार्यक्रममा समावेश गरेका योजनामध्ये करिब ४८ प्रतिशत योजना अझै सम्झौता हुन सकेका छैनन्। वडा तथा बस्तीस्तरमा निर्माण गर्नुपर्ने योजनाका लागि उपभोक्ताहरू समयमै नआउनु र कार्यालयले पनि ताकेता नगर्नु सम्झौता प्रक्रियामा ढिलाइ हुनुको कारण बनेको छ।

हालसम्म कुल योजनामध्ये ४८.६३ प्रतिशत योजना सम्झौता हुन बाँकी रहेको सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले जानकारी दिनुभयो। अब आर्थिक वर्ष समाप्त हुन करिब तीन महिना मात्र बाँकी रहेकाले बाँकी योजनाको कार्य सम्पन्न गर्न कठिन हुने देखिएको छ।

सिमकोट गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १८३ वटा योजना तर्जुमा गरेकोमा हालसम्म ८९ वटा योजनाको सम्झौता हुन बाँकी रहेको उहाँले बताउनुभयो। समय अभावका कारण सुरु भएका योजना पनि गुणस्तरमा असर पर्न सक्ने भएकाले अब नयाँ योजना सम्झौतामा सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ।

हालसम्म ८२ वटा योजनाको सम्झौता भई निर्माण कार्य जारी रहेको र तीमध्ये ११ वटा योजना सम्पन्न भइसकेको उनले जानकारी दिनुभयो। एक वर्षअघि तर्जुमा गरिएका योजनाहरू समयमै कार्यान्वयन नहुनुमा सबै पक्षको जवाफदेहिता कमजोर रहेको उहाँको भनाइ छ।

कार्यालय, प्राविधिक, उपभोक्ता समिति तथा जनप्रतिनिधिहरू सबै उत्तिकै जिम्मेवार रहेको उनले बताउनुभयो। साथै समयमै योजना कार्यान्वयन नहुनुका कारणबारे नागरिक समाजले पनि चासो नदेखाएको उहाँको टिप्पणी छ।

यता प्राविधिकहरूले भने लागत इस्टिमेट तयार भए पनि उपभोक्ता समिति समयमै नआउँदा काम अघि बढ्न नसकेको गुनासो गरेका छन्।