• २७ चैत २०८२, शुक्रबार

ताराखोलाको वित्तीय प्रगति ३६.८३ प्रतिशत

blog

बागलुङको ताराखोला गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम। तस्बिर सौजन्य : पत्रकार संगम घर्ती मगर

नवराज नेपाली
बागलुङ (गलकोट), चैत २७ गते ।
ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म ३६.८३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। गाउँपालिकाले पूँजीगत खर्चतर्फ कुल १५ करोड ९४ लाख ७६ हजार ३७० रुपियाँमध्ये ५ करोड ८७ लाख ६७ हजार ४२ रुपियाँ खर्च गरेको हो।

ताराखोला गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उक्त विवरण उल्लेख गरिएको थियो।

पालिकाले चालु खर्चतर्फ भने ५१ प्रतिशत रकम खर्च गरेको जनाएको छ। कार्यक्रममा नागरिकहरूले पालिकाको सेवा प्रवाहबारे प्रश्न तथा जिज्ञासा राखेका थिए।

स्थानीय टेकबहादुर केसीले ताराखोलाको मुख्य सडकका रूपमा रहेको सहिदमार्ग ओझेलमा परेको भन्दै गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “सहिदमार्गले अपेक्षित उन्नति गर्न सकेन। यसकै कारण हामी धेरै पछाडि परेको महसुस गरेका छौं। अमरभूमि, सिले र अर्गको सिर्खु क्षेत्र विकासमा पछाडि परेका छन्।”

यस्तै, यमबहादुर घर्तीमगरले गाउँपालिकाले अध्यक्ष कपका लागि बजेट विनियोजन गरे पनि कार्यक्रम सञ्चालन नभएको विषयमा जिज्ञासा राख्नुभयो।

नागरिक सन्तुष्टि फाराममार्फत पनि सेवाग्राहीहरूले पालिकाको सेवा प्रवाह सुधार गर्न, कृषि तथा लघुउद्यमद्वारा उत्पादित सामग्रीको बजारीकरणमा समन्वय गर्न, समानुपातिक विकासमा ध्यान दिन, स्वास्थ्य र शिक्षामा लगानी बढाउन तथा शैक्षिक क्षेत्रको नियमित अनुगमन गर्न सुझाव दिएका थिए।

स्थानीयले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष धनबहादुर विक (हिमाल)ले सहिदमार्गको विषयलाई प्राथमिकतामा राखेर संघ र प्रदेश सरकारसँगसमेत समन्वय गरिएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष भातखानेडाँडादेखि सिलेसम्मको खण्डमा एक करोड रुपियाँ बजेटमा काम अगाडि बढाइएको छ।

उहाँले अध्यक्ष कपअन्तर्गत खेलकुद कार्यक्रम निर्वाचनलगायत विभिन्न कारणले सञ्चालन गर्न कठिनाइ भएको पनि बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले समानुपातिक विकासका लागि निरन्तर पहल भइरहेको र बजेट निर्माणका लागि प्रत्येक वडामा छलफल गरेर योजना तय गर्ने गरिएको जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत रिजालले पालिकाले आवश्यकताका आधारमा मात्र सरकारी सवारीसाधन प्रयोग गर्ने गरेको बताउनुभयो। नागरिक सन्तुष्टि फाराममा सरकारी सवारीसाधनको दुरुपयोगबारे उठेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो।

ताराखोला गाउँपालिकाको आयोजना तथा ताराखोला मिडिया प्रालिको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा मिडियाका अध्यक्ष महेन्द्र घर्ती (संगम)को अध्यक्षता, वडा नं. २ का अध्यक्ष भद्रबहादुर घर्तीको स्वागत, पत्रकार विनोद प्रतीक थापाद्वारा नागरिक सन्तुष्टि प्रतिवेदन प्रस्तुत, पत्रकार कमल पौडेलको टिप्पणी तथा पत्रकार संगम घर्तीको सञ्चालन रहेको थियो।