काठमाडौँ , चैत २७ गते । नेपाली वाङ्मयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
एपेक नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा ‘विश्व–ज्योति काव्य सम्मान–२०८२’ अग्रज कवि तथा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’ लाई प्रदान गरेको छ । यस सम्मानका साथ नगद राशि ५१ हजारसमेत प्रदान गरिएको छ । उक्त अवसरमा ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार–२०८२’ सुर्खेतकी लघुकथाकार हिमा रोका ‘प्रतिज्ञा’ लाई प्रदान गरिएको छ । रोकाको लघुकथाकृति ‘प्रतिज्ञा’ को पाण्डुलिपिलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा अभि सुवेदीले दुवै सर्जकलाई सम्मानित एवं पुरस्कृत गरे । उक्त कार्यक्रममा डा. सुवेदीले रोकाको पुरस्कृत पाण्डुलिपिको प्रकाशित कृति ‘प्रतिज्ञा’ र नेपाल र भारतका कविहरूको अनुदित कविताकृति ‘अनुभूति’ को समेत लोकार्पण गर्नुभयो ।
प्रमुख अतिथि प्राडा सुवेदीले दुवै सर्जकलाई बधाई दिँदै साहित्यकार मञ्जुल कवि, गीतकार, गद्य लेखक मात्र नभएर चेतनाको प्रवाह गर्ने मानिस भएको बताए । उनले भने, “मञ्जुल मेरा मित्र हुन् । उनको साधनाले युगको कलेवरको चित्र स्पष्ट पार्दछ । उनको साहित्यमा समय प्रतिविम्बित हुन्छ ।”
कार्यक्रममा मञ्जुलले आफूलाई खुसी लागेको बताउँदै आफूलाई कविता लेख्न अझै ऊर्जा मिलेको उल्लेख गर्नुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले साहित्यकार मञ्जुल आफ्ना लागि पनि प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले सुर्खेतकी लघुकथाकार हिमा रोकाका बारेमा बोल्दै शारीरिक रूपमा कमजोर भए पनि उहाँको लघुकथा शक्तिशाली भएको बताउनुभयो ।