• २६ चैत २०८२, बिहिबार

डा. रमिल अधिकारीलाई उत्कृष्ट गीतकारको अवार्ड

blog

गीतकार डा. रमिल अधिकारी

काठमाडौँ, चैत २७ गते । गीतकार डा. रमिल अधिकारीले ‘सातौँ सगरमाथा म्युजिक अवार्ड’ प्राप्त गर्नुभएको छ । राष्ट्रिय सांस्कृतिक संस्थान (नाचघर) मा बुधबार सम्पन्न समारोहमा उहाँको ‘वाचा गरौँ’ बोलको गीतले उत्कृष्ट गीतकारको अवार्ड हात पारेको हो ।

यसअघि ‘म्युजिक खबर अवार्ड’ र ‘राष्ट्रिय राप्ती म्युजिक अवार्ड’ जितिसक्नुभएका डा. अधिकारीको यो तेस्रो राष्ट्रिय स्तरको अवार्ड हो । पुरस्कृत गीत ‘वाचा गरौँ’ मा चर्चित गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर रहेको छ भने ज्ञानेन्द्र गिरीले सङ्गीत भर्नुभएको छ ।

डा. अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना’ लगायतका गीत बजारमा आइसकेका छन् । हाल न्यूजिल्यान्डमा बसोबास गर्दै आउनुभएका अधिकारी पेसाले चिकित्सक भए तापनि नेपाली गीतसङ्गीत र साहित्यको क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँका सिर्जनाहरूलाई दर्शक तथा श्रोताले निकै मन पराएका छन् ।