रवीन्द्र उप्रेती
बर्दीबास, चैत २६ गते । बर्दीबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दीपकबहादुर कार्कीको प्यानल विजयी भएको छ। १७ सदस्यीय नयाँ कार्यसमितिका लागि बुधबार साँझ सार्वजनिक परिणाम अनुसार, कार्कीले आफ्ना प्रतिस्पर्धी उत्तम श्रेष्ठलाई २७१ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो।
निर्वाचनमा कार्कीले ८२८ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी श्रेष्ठले ५५७ मत ल्याउनुभयो। कार्कीले प्राप्त गरेको मत कुल सदर मतको ५८.४७ प्रतिशत रहेको छ। यस निर्वाचनमा कार्कीले ‘डमरु’ र श्रेष्ठले ‘कलश’ चिन्ह लिएर प्रतिस्पर्धा गर्नु भएको थियो।
१७ पदका लागि सम्पन्न निर्वाचनमा कार्की प्यानलले सबै पदमा वर्चस्व जमाएको छ।
प्रथम उपाध्यक्षमा रञ्जितराज ढुंगानाले ८४९ मत, द्वितीय उपाध्यक्षमा रामनाथ साह ७४३ मत, महिला उपाध्यक्षमा ज्ञानु बलम्पाकी आले ७६९ मत, महासचिवमा केदार गौतम ८१७ मत, सचिवमा रिमनाथ अधिकारी ७०० मत, कोषाध्यक्षमा सुरेन्द्रराज लामा ७२९ मत र सहकोषाध्यक्षमा संगमकुमारी आले ८२९ मत प्राप्त गर्नुभएको छ।
सदस्यतर्फ चार महिला र पाँच पुरुष सदस्यमा पनि कार्की प्यानलकै उम्मेदवार विजयी भएका छन्।
मधेश प्रदेशकै चर्चित स्वास्थ्य व्यवसायीका रूपमा परिचित कार्की शुभ स्वस्तिक अस्पताल र नर्सिङ कलेजका सञ्चालक हुनुहुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्रमार्फत बर्दीबासको व्यापारिक गतिविधि चलायमान बनाउन उहाँले पुर्याएको योगदानका कारण व्यवसायीमाझ लोकप्रिय हुनुहुन्छ। यसअघि उहाँले २०७० र २०७९ सालको निर्वाचनमा सदस्य पदमा सर्वाधिक मत ल्याइसक्नुभएको थियो।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले बर्दीबासको व्यावसायिक विकास र दीर्घकालीन आर्थिक समृद्धिलाई केन्द्रमा राखेर स्पष्ट योजना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “बर्दीबासको व्यावसायिक एकता, साझा हित र दीर्घकालीन आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै हाम्रो टीम स्पष्ट योजनाका साथ अघि बढ्नेछ।”
प्यानल विजयी भए पनि परम्परा तोड्दै बर्दीबासमा पहिलोपटक कुनै तामझामपूर्ण विजय जुलुस ननिकालेर नव निर्वाचित टीमले चुनावी सालीनता प्रदर्शन गरेको स्थानीयहरूले उल्लेख गरेका छन्।
निर्वाचन अधिकृत विष्णु कार्कीका अनुसार, मङ्गलबार सम्पन्न मतदानमा संघमा आबद्ध एक हजार ६४० मतदातामध्ये एक हजार ४१६ मत खसेको थियो।