हिजोअस्तिदेखि दिन धुम्म भइरहेको थियो । न त उघ्रिन सकेको थियो न त पानी नै पर्न । आज साँझ भने हुरी चल्न थल्यो । यसले ठूलै वितण्डा मच्चाउने पो कि भन्ने पनि लाग्यो । ‘ड्याङ ड्याङ’ झ्यालहरू एकआपसमा ठोक्किन थाले । ऊ उठ्छे, झ्याल लगाउँछे, ढोका थुन्छे । हुरी कम भएको हो वा अझै चल्छ पत्तो छैन तर लाग्छ अब हुरी रोकिन्छ ।
‘टिक टिक टिक’ घडीको आवाज आइरहेको छ । आफू आफैँभित्र बन्द भई विचार शून्य भएकाले उसलाई लागेको थियो समय रोकिएछ तर होइन, रातको १० बजिसकेछ । विवेकलाई फोन गरी । उसलाई थाहा थियो फोन उठ्दैन भनेर तर झिनो आशाको त्यान्द्रोले उसलाई बाँधेको थियो ।
न त हुरी रोकियो न त उसको मनमा उठेको सुनामी नै कम भयो । निदाउने कोसिस जारी छ तर मौनतामा झरेका आँसुले उसलाई निदाउन दिएनन् । भोलि बिहानै उठेर उसलाई बाहिर जानु थियो । त्यसैले छिटो निदाउनु थियो ।
उसलाई थाहा थियो– अकस्मात् ऊ बाहिर निस्किनु जनचासोको विषय बन्नेछ । उसको आचरण र चरित्रमाथि धावा बोलिनेछ । आम रूपमा उसलाई स्वीकार र अस्वीकार गरिनेछ । यसका लागि उसले बाटोमा तेर्सिएका पारिवारिक तगारा, कानुनी तगारा, आर्थिक तगारा नाघ्नुपर्ने हुन्छ तर उसको यो कदम एकछिनको आवेगको प्रतिफल थिएन । आफूभित्र अन्तर्निहित ज्ञान र प्राप्त सूचनाहरूका आधारमा विकल्पहरूको खाताबाट कम नराम्रो प्रभाव भएको विकल्पको छनोट उसले गरेकी थिई । उसको निर्णयसँगै जोडिएर आउने अप्रत्याशित र आकास्मिक घटनाहरूको पूर्वानुमानसमेत उसँग भएकाले सोही अनुरूपको योजना पनि बनाइसकेकी थिई । योजना जटिल बनाउनुपर्ने आवश्यकता नभए पनि बाटोमा आउने अप्ठ्यारोलाई झेल्ने आवश्यक तर्क र कारण ऊसँग मनग्गे भएकाले उसले परिपक्व रूपमै बनाएको ‘अप्रेसनल डिसिजन’ र ‘पोलिसी डिसिजन’ प्रति ऊ ढुक्क नै थिई ।
उसको सुमधुर स्वरमा लठ्ठिएर घण्टौँ फोनमा भावना साट्न रुचाउने विवेकलाई कानुनी, धार्मिक र सामाजिक रूपले स्वीकार्नुमा उसलाई कुनै आपत्ति थिएन । पर्खाइ लामो भइसकेको थियो । मनभित्रको हुरीले उसका आँखा फेरि छचल्किएर आए । सलको फेरले आँसु पुछी । विचारको वेगलाई उसले रोक्न सकिन । उसलाई सत्य लागेको असत्य र असत्य लागेको सत्य पनि हुन सक्छ । संवेदनशीलता, जिम्मेवारी र उत्तरदायित्व बीचको उसको निर्णय स्वाभाविक हो वा अस्वाभाविक उसलाई कहाँ पत्तो थियो र ? सत्यजस्तै लागेको भ्रमको यात्राबाट अर्को भ्रमको यात्रा त सुरु हुन लागेको होइन ? प्रश्नको अन्त्य पनि त थिएन । उसले आफँैले आफैँलाई बुझ्न कठिन भइरहेको थियो तर यो दुनियाँ उसलाई अनेक कोणबाट व्याख्या गर्न लागिपरेको थियो । उसलाई लाग्थ्यो उसको निर्णयमा जोखिम प्रशस्त छ । फेरि लाग्थ्यो सबैभन्दा ठूलो जोखिम त कुनै निर्णय नलिनु पनि त हो । हिँड्दा लडिन्छ भन्ने डरले हिँड्न कसैले छाडेको छ र !
विवेकले ल्याइदिएको रानीहार ड्रेसिङ टेबलमा अलपत्र छ । सापेक्षिक कुरामा न त उसलाई पहिला रुचि थियो, न त अहिले छ, न त हुने नै छ । भौतिकवादी भएर होला पूर्वजन्ममा पनि उसलाई खासै विश्वास छैन तर उसलाई लाग्यो, सायद विवेकले पूर्वजन्ममा उसको ऋण खाएको थियो जुन यस जन्ममा तिर्दैछ । अब भने उसले विवेकलाई ऋण मुक्त गर्नुपर्छ । उसको विचारमा विवेकसँग बाँचेको जीवन समानान्तर हुँदै गइरहेको छ । समानान्तर रेखाको मिलन असम्भव छ । मनको पराकम्प रोकिँदैन । विस्फोट गराउन खोज्छ ।
उसलाई शब्दको खेती गर्न आउँदैन । मनको बाघले खाएको पो हो कि भन्ने पनि लाग्छ । एकाएक उसलाई विवेकको माया लागेर आँउछ । छरप्रस्ट भावनाहरू मनभित्र मिसिन थाल्छन् । सास रोकिएजस्तो हुन्छ । मन र मस्तिष्क द्वन्द्वरत हुन्छन् । मन त उही हो तर यही मनले किन प्रतिरोध गर्छ ? किन आन्दोलित हुन्छ ? किन यसमा क्रोध भरिन्छ ? किन उदास
हुन्छ ? किन निरस हुन्छ ? उसको अनुभूतिको व्याख्या गर्ने शब्दहरू मौन बसिदिन्छन् । लाग्छ मौनताभित्र धेरै अर्थ र रहस्यहरू तँछाड मछाडको अवस्थामा छन् ।
वादविवादमा सम्भावना बाँचेको हुन्छ । सम्बन्ध सधँै हाइड्रोजन र अक्सिजनको एचटुओ जस्तो हुँदैन । फेरि हाम्रो जीवनको रिमोट कन्ट्रोल सधँै कहाँ हाम्रो हातमा हुन्छ र ? त्यसैले सबै देवकोटा भएर मुनामदन रच्दैनन् । मीरा भएर प्रेमको भजन गाउँदैनन् । कृष्ण बनेर रासलीला रचाउँदैनन् । विवेकसँग सम्बन्ध जोडिँदा नै उसले मनमनै आफैँसँग वाचा पनि त गरे कि थिई सम्बन्धको आयुलाई सकेसम्म ऊ तन्काउँदै लानेछु । यसमा विवेकको पनि त्यही राय थियो तर पहिलेको समय कहाँ रह्यो र ? अत्यास लाग्दो र पट्यार लाग्दो गन्तव्यहीन यात्राको सहयात्री बन्नुभन्दा विश्राम लिनु सहीजस्तो लाग्न थाल्यो उसलाई ।
ऊ ऐना अगाडि उभिई । उसलाई लाग्यो उसको सामथ्र्य उखुको खोस्टासमान भइसकेको छ । हाँसो मुस्कान समयक्रमसँगै खुम्चिँदै गइरहेको छ । मनको प्रतिविम्ब अनुहारमा नल्याउने असफल प्रयास गर्छे । जति लुकाउन खोजे पनि अनुहारमा उदासीनता प्रष्ट देखिन्छ । ऐनाभित्र भने उसले आफ्नो अस्तित्व भेट्छे । पानीमा कोरिएको त रहेनछ उसको अस्तित्व । आफ्नो अनुहारमा पनि उसले बेमेल केही भेटिन । निधारमा सानो टीका लगाई, अनुहार उज्यालो देखियो ।
सम्बन्ध साथ हो, विश्वास हो । विवेकसँगको सम्बन्ध अनपेक्षित हुँदै गइरहेको थियो । बुझ्नेले भन्थे विवेक सरल छ तर व्यवहारमा ऊ त्यस्तो पाउँदिन । परिस्थितिपिच्छे विवेक क्लिष्ट बन्दै गइरहेको अनुभूति गर्छे । यसको साक्षी उसको आँसु पिउने तकिया, एक्लोपन हेरेर बस्ने भित्ताहरू र अनिँदा रातहरू छन् । आँसु पिउने तकिया, एक्लोपन हेरेर बस्ने भित्ताहरू र अनिँदा रातहरूलाई पनि लागेको थियो कि सम्बन्धको आयु यति अगाडि आइपुग्दैन ।
उसलाई लाग्छ विवेकले उसको कुरा सुने मात्र सम्बन्धमा प्राण भरिनेछ तर विवेकको मुटु छेड्ने शब्दहरू उसको मनमा गढेर ऊप्रतिको आस्था, विश्वास र भरोसा चुँडिरहेको छ । ऊसँगको सहयात्रालाई अर्थहीन बनाइरहेको छ । उसको वास्तविक चरित्र सम्झिँदा, कलिला सपनाहरूको हत्या हुँदा भक्कानिएर डाँको छोडेर रुन मन लाग्थ्यो उसलाई । युद्ध कसैलाई प्यारो हँुदैन । उसलाई पनि थिएन तर उसले युद्ध गर्न प¥यो । मुटुमा लागेको चोटले, पाइला पाइलामा पाएको अपमानले उसलाई युद्ध गर्न बाध्य बनायो तर युद्ध सधँै खराब हुन्छ भन्ने छैन । युद्ध हुन्छ सुनौलो बिहानीका लागि, युद्ध हुन्छ शान्तिका लागि, युद्ध हुन्छ आत्मसम्मानका लागि, स्वतन्त्रताका लागि । हो उसले पनि अर्जुन बनेर यो युद्ध जित्नु छ । फरक यत्ति हो कि उसको कुरूक्षेत्रमा कृष्ण उसको सारथि छैन ।
अब उसलाई लाग्छ यस विषयमा धेरै तर्कवितर्क आवश्यक छैन । यो त शब्दको खेल मात्र हो । यसले मस्तिष्कको भाषा बोल्छ । मनको कुरा पर्याप्त छ सुन्नलाई । अब ऊ सहासी हुनुपर्छ, शान्त हुनपर्छ । भावनात्मक रूपमा आत्मनिर्भर हुनपर्छ । अनेक बहानामा बाँधिएका बन्धनहरू खुकुल्याउँदै जानुपर्छ । त्यसैले मस्तिष्कलाई विचारको बोझबाट मुक्त गर्नै पर्छ । यतिका वर्ष बिताएको जीवनले उसलाई धेरै परिपक्व बनाएको छ ।
विवेकले आकाशभन्दा असीम, सागरभन्दा गहिरो, पानीभन्दा कञ्चन माया गरोस् भने पनि उसले अपेक्षा गरेकी थिइन । लैलामजनु, रोमियोजुलियट, मुनामदन, हीरराँझाको जस्तो सम्बन्ध चाहेकी पनि होइन । उसले त आत्मीयताको अपेक्षा गरेकी थिई । समर्पण र करुणाको अपेक्षा गरेकी थिई । त्यसैले उसलाई आफ्नो निर्णय अपरिपक्व लाग्दैन ।
जोड्ने काम विश्वासले गर्छ, सम्मानले गर्छ, प्रेमको सम्बन्धमा होस् या मित्रताको सम्बन्धमा । त्यसैले तर्क गर्नुको औचित्य समाप्त भइसकेको छ । महŒवपूर्ण कुराको निर्णयमा मन र मस्तिष्क मिसाउन जरुरी छैन । उसको निर्णयले उसलाई स्वतन्त्रताको अनुभूति गराइरहेको छ । गीतामा पनि त भनिएको छ– जे भयो राम्रो भयो, जे भइरहेको छ राम्रो भइरहेको छ र जे हुनेछ त्यो पनि राम्रो हुनेछ ।
बाहिर मन्द मन्द बतास चलिरहेछ । ऊ घरको कौसीमा बसेर आकाशका चम्किला ताराहरूलाई नियाल्छे । मस्तिष्कमा कुनै विचार उद्वेलित भएको छैन । चित्त आन्दोलित भएको छैन । मनका लहरहरू शान्त छन् । अब उसलाई विगतप्रति प्रायश्चित छैन, न त भविष्यको चिन्ता छ । जीवन न त भविष्यमा हुन्छ न त विगतमा । जीवन त वर्तमानमा हुने हुन्छ । आलोचना सहन र स्वीकार्न सक्ने क्षमता पनि विस्तारै बढ्दैछ उसभित्र । विवेकलाई पनि उसले क्षमा गरिसकेकी छ । रविशङ्करको कुनै किताबमा उसले पढेकी थिई– माफीजस्तो सुन्दर सजाय अरू केही हुँदैन, अब त समस्त प्राणीप्रति नै उसको हृदयमा प्रेम छ ।
उसको जीवनदृष्टि पनि व्यापक हुँदै गइरहेको छ । तनावलाई उसले विपत्ति ठानेकी छैन । बरु बेवास्ता गर्न सिक्दैछ । अब उसमा न त गुमाउने चिन्ता छ न त पाउने लालच नै छ । भावनात्मक रूपमै ऊ आत्मनिर्भर बन्दै गइरहेकी छ । उसलाई लाग्छ उसको निर्णयमा पश्चतापलाई ठाउँ छैन ।