• ३० फागुन २०८२, शनिबार

नवनिर्वाचित सांसद मल्लको प्रतिबद्धता : सडक सुधार र पूर्वाधार विकास

blog

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सदरमुकाममा आयोजित विजयीसभामा सम्बोधन गर्नुहुँदै नेकपा नेता रमेशकुमार मल्ल । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, फागुन २४ गते । सल्यानबाट पहिलो मौकामा नै प्रतिनिधीसभामा स्थान बनाउन सफल नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश कुमार मल्लले राप्ती लोकमार्ग, मदनभण्डारी लोकमार्गलाई आधुनिक सडकको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

आइतबार सदरमुकाम खलङ्गामा विजयी उत्सव कार्यक्रममा सञ्चारकर्मीहरुसंग बोल्दै उहाँले देशको पूर्वाधार निर्माणलाई विकासको प्रारम्भिक चरण भएको उल्लेख गर्दै प्रमुख प्राथमिकताका रूपमा सडक सुधार र आधुनिक सडक निर्माणमा जोड दिने बताउनुभएको हो ।

मल्लले भन्नुभयो, “धेरै मानिसले सामान्य सडक यातायातको सुधार नगरेको भन्दै प्रश्न उठाउने गर्नुहुन्छ, त्यसैले राप्ती लोकमार्ग र मदनभण्डारी लोकमार्गलाई आधुनिक सडकको रूपमा विकास गर्ने, सुरु भएको कामलाई गति र निरन्तरता दिने मेरो पहिलो प्राथमिकता हुनेछ । यसका साथै अन्य पूर्वाधार विकासका काम पनि निरन्तर अघि बढाइनेछ ।”

उहाँले राजनीतिक समन्वयको महत्वमाथि पनि जोड दिनुभएको छ । मल्लले मुलुकका सबै राजनीतिक दलहरूले मिलेर अगाडि बढ्नुपर्ने र यसका लागि नयाँ भनिएका शक्तिहरु पनि तयार बन्नुपर्ने बताउनुभयो । “मिलेर जाने भनेको सरकारमा पावर शेयरिंग गर्ने भन्ने होइन,” उहाँले भन्नुभयो ।

प्रतिनिधि सभा सदस्यको रूपमा जनताको पक्षमा काम गर्ने वचन दिंदै उहाँले सरकारमा भए पनि वा प्रतिपक्षमा भए पनि जनप्रतिनिधिको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताउनुभयो । उहाँले अघि भन्नुभयो, “सरकारमा हुँदा आफ्नै नेतृत्वमा काम गर्न सकिन्छ भने सरकारमा नहुँदा पनि जनतालाई साथमा लिएर दबाब दिन सकिन्छ । सरकार जनप्रतिनिधिको कुरा सुन्दैन भने त्यसलाई जनविरोधी सरकारले भन्न सकिन्छ । म जनताको कुरा सरकारसम्म पु¥याउने वातावरण सिर्जना गर्नेछु ।” सो अवसरमा मल्लको उपस्थितिमा स्थानीय नागरिक र पार्टी कार्यकर्ताहरूले विजयी उत्सव मनाएका थिए।