बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन २१ गते । सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत दूधौली नगरपालिकामा बाबुको काजकिरिया गरिरहेका क्रियापुत्री पनि बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्यमा सहभागी भएका छन् ।
दूधौली नगरपालिका वडा नं. १ र २ मा आफ्नो बाबुको काजकिरिया गरिरहेका दुई परिवारका क्रियापुत्रीले सहयोगीमार्फत नजिकैको मतदान केन्द्रमा गई मतदान कार्यमा सहभागिता जनाउनुभएको हो । वडा नं. १ निवासी ८२ वर्षीय स्वर्गीय शर्माानन्द फुयालको काजकिरियामा बसिरहनुभएका उहाँका दुई श्रीमती खिनमाया फुयाल, टिनमाया फुयाल र छोराहरू काजी फुयाल, चन्द्र फुयाल, तिलकप्रसाद फुयालसहित १० जनाले मतदान गरेको छिमेकी कमलप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काजकिरिया गर्न बसेका फुयाल परिवारले आठौँ दिनमा नजिकैको नवज्योति मावि गिचिगानी मतदान केन्द्रमा गई मतदान गर्नुभएको हो ।” त्यस्तै वडा नं. २ निवासी स्वर्गीय ७६ वर्षीय टङ्कनाथ घिमिरेको परिवारले पनि काजकिरियामा बसेको तेस्रो दिन नजिकैको कमला मावि झुलुुवाकी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
स्वर्गीय घिमिरेका दुई श्रीमती र छोराबुहारी गरी चार जनाले मतदान गर्नुभएको छिमेकी रेखराज दाहालले जानकारी दिनुभयो ।