२०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभा निर्वाचन युवा आन्दोलनको परिणामस्वरूप झन्डै दुई वर्षअघि सरी सङ्कट व्यवस्थापनको प्रयासस्वरूप यही फागुन २१ गते हुँदै छ । भदौ २४ गते सरकारबाट ठुलो सङ्ख्यामा लुटिएका गोली, बन्दुक र भागेका बन्दी अझै सरकारी नियन्त्रणमा आइसकेका छैनन् । त्यसकारण पनि सुरक्षा चुनौती हुन्छ नै । सङ्घीय प्रादेशिक वा स्थानीय निकायका निर्वाचन सबैमा सुरक्षा चुनौती देखिँदै आएका छन् । खास गरी क्रान्ति सशस्त्र द्वन्द्व र आन्दोलनपछि हुने निर्वाचनहरूमा हामी सबैको ध्यान चुनावलाई स्वतन्त्र, निष्पक्ष, तटस्थ एवं भयरहित वातावरणमा सम्पन्न गराउने कुरामा केन्द्रित हुन आवश्यक छ । देशमा अन्योल र अस्थिरता भइरहेका बेला सरकारले चुनावी वातावरण बनाउन गरेको प्रयास प्रशंसनीय छ । चुनावलाई व्यवस्थित गर्न दुई लाखभन्दा बढी कर्मचारी र शिक्षक परिचालन गरिएको छ । सुरक्षा चुनौतीलाई ध्यान राखी एक लाख ३४ हजार म्यादी प्रहरीसहित तीन लाख ३७ हजार सेना गुप्तचर प्रहरी जस्ता सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।
यस्ता खाले चुनावमा आर्थिक हिसाबले देशको ठुलो धनराशि खर्च हुन्छ । यो चुनावमा ३१ खर्ब रुपियाँ खर्च हुने सरकारी अनुमान छ । दलहरू उम्मेदवार र तिनका समर्थकले चुनावमा गर्ने खर्च पनि नेपाली सम्पत्ति नै हो । निर्वाचन आयोगले तोकेको सीमाभित्र रही प्रत्येक उम्मेदवारले ३३ लाख रुपियाँ खर्च गरेको अवस्थामा पनि यस निर्वाचनमा कायम रहेका उम्मेदवारको कुल सङ्ख्या ३४०६ ले ११ अर्ब रुपियाँ हुन आउँछ । समानुपातिक तर्फका ३१३५ उम्मेदवारले गर्न सक्ने खर्चको बारेमा त यहाँ कुनै हिसाब राखिएकै छैन । चुनावमा खट्ने सरकारी जनशक्ति, राजनीतिक दलका कार्यकर्ता, उम्मेदवार, समर्थक र आमनागरिकले चुनावका लागि खर्च गरेको समयको हिसाब छुट्टै छ । यति ठुलो स्रोतसाधन र समय खर्च हुने चुनावलाई हामीले हरतरहले सफल पार्नै पर्छ ।
निर्वाचन राजनीतिक दल वा उम्मेदवारको निजी मामिला मात्र होइन । यो देशको नेतृत्व चयन, भएका समस्याको समाधानसहित योजनाबद्ध रूपमा जनचाहना अनुरूप अघि बढाउने विषय हो । यसर्थ चुनावलाई भयरहित वातावरणमा शान्तिपूर्ण तवरले सम्पन्न बनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नै पर्छ । निर्वाचित हुने आकाङ्क्षा लिएर चुनावमा होमिएका दल र उम्मेदवारलाई आफू चुनिन पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै हो । आफ्नै दृष्टिबाट अरू सबै परिचालन होऊन् भन्ने सोच्नु जायज होइन । चुनाव प्रचारप्रसारदेखि मतदान र मतगणनासम्मका चुनावी प्रक्रियामा हुन सक्ने विवादास्पद गतिविधि र आउन सक्ने मतभेदलाई कम गर्न सम्बद्ध सबै पक्षले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।
गएका स्थानीय तथा सङ्घीय निर्वाचनमा दलहरू तथा उम्मेदवारबिचमा वैमनस्यता सिर्जना भई झडप परेका तितो अनुभव हामीसित छ । कैयौँ व्यक्ति घाइते भएका छन् र केहीले मृत्युवरणसमेत गरेका छन् । कतिपय ठाउँमा धाँधलीको कारणले चुनाव दोहो¥याउन परेको छ । सुशासनतर्फ लम्किरहेका हामी नेपालीको लागि यस्ता घटना दोहोरिनु लज्जाको विषय हुने छ । दल र उम्मेदवारका कार्यकर्ता संयम र शालीन भएमा धेरैजसो समस्या आफैँ समाधान हुन्छन् । मुखैमा आएको जितको लागि उम्मेदवारहरूले आफ्नो संयम गुमाउन पुगेको अवस्थामा पनि चुनावी सहयोगी र घरपरिवारले राम्ररी सम्झाइ बुझाइ गरे सम्भावित दुर्घटना टर्न सक्छ । दल, उम्मेदवार र तिनका शुभचिन्तकले के कुरा बुझ्न आवश्यक छ भने चुनावका क्रममा उनीहरूले गरेको प्रस्तुति पनि आमजनताको मूल्याङ्कनको आधार बनिरहेको हुन्छ ।
एउटा चुनावमा हुने जित वा हारले कुनै दल वा उम्मेदवारको सम्पूर्णतामा मूल्याङ्कन हुने र उनीहरूको पूरै भविष्य कोरिने हुँदैन । योग्य दल वा उम्मेदवार चुनावमा पराजित भए पनि जनताको आँखामा स्थापित हुन्छ र राष्ट्रिय तथा स्थानीय सवालमा जनताले उनीहरूमा भरोसा राख्छन् । कुनै राजनीतिक दल वा उम्मेदवारले प्राप्त गर्ने सबैभन्दा ठुलो सम्मान यही जनताको विश्वास हो । कुनै दल वा उम्मेदवारले देशलाई दिन सक्ने सबैभन्दा ठुलो योगदान पनि स्वच्छ निर्वाचनको कार्यान्वयन हो ।
आचारसंहिता उल्लङ्घन, धम्कीपूर्ण भाषा तथा भौतिक बल प्रयोग, आर्थिक प्रलोभन र अरूप्रति नकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले गरिने भ्रमपूर्ण प्रचार सभ्य नेतृत्वको परिचय होइन । यस्ता गलत माध्यमबाट कुनै दल वा व्यक्ति निर्वाचित भएमा पनि तिनले आमजनसमुदायको सही अर्थमा विश्वास जितेका हुँदैनन् । निर्वाचन प्रक्रियामा गलत तरिका अपनाएकाले उनीहरू समस्या पर्दा आमजनसमुदायलाई नैतिक पाठ सिकाउन सक्ने अवस्थामा पनि हुँदैनन् । भविष्यमा सङ्कटको घडीमा उनीहरूले आह्वान गर्दा जनताले उनीको कुरा सुन्ने सम्भावना न्यून हुन्छ । निर्वाचित भएरै पनि कन्नापछाडि हाँसोको पात्र बनिरहने सम्भावना हुन्छ । दीर्घकालीन हिसाबले दृष्टान्तद्वारा नेतृत्व गरी देश र जनताको सेवा गर्ने कुरा त परै जाओस् त्यस्ता दल र नेताले आफ्नै तुच्छ स्वार्थको जोखोसम्म गर्न सक्दैनन् ।
निर्वाचनमा सहभागी कर्मचारी, सुरक्षाकर्मीका साथै बुद्धिजीवी, सञ्चारकर्मी, प्रेस, मिडिया र पछिल्लो समय देखा परेका सामाजिक अभियन्ताले समेत स्वच्छ निर्वाचनका लागि आफूबाट हुन सक्नेसम्म भूमिका निभाइनु आवश्यक छ । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कुनै किसिमको पक्षधरता लिन हुँदैन । कानुनको आँखामा सबै दल र नागरिक समान भए जस्तै निर्वाचन सञ्चालनमा रहेका सबै जनशक्तिले ठुला वा साना दल नभनी, ठुला वा साना नेता नभनी, जनमत धेरै भएका वा थोरै भएका दल वा व्यक्ति नभनी सबैलाई समान व्यवहार गरिनु आवश्यक छ ।
निष्पक्ष समाचार सम्प्रेषण गर्न स्थापित सञ्चार गृह र समर्पित सञ्चारकर्मीले कुनै उम्मेदवारप्रति पक्षधरता व्यक्त नगरी सही सूचना सम्प्रेषणमा सीमित हुन आवश्यक छ । निर्वाचन हुनुअघि नै अमुक दल वा उम्मेदवारले जित्छ वा हार्छ भन्दै पक्षधरता देखाउनु शोभनीय हुँदैन । सञ्चार माध्यमले अमुक दल वा उम्मेदवारले चुनाव जित्ने वा हार्ने घोषणा गरेको अवस्थामा जित्ने सम्भावना देखाइएको दल वा उम्मेदवारमा अहङ्कार बढ्ने र सोही अनुसार अराजक देखिने सम्भावना बढ्छ । हार्ने सम्भावना देखाइएको दल वा उम्मेदवारमा चुनाव भाँडिए हुन्थ्यो भन्ने सोच निर्माण हुन सक्छ । शान्तिपूर्ण रूपमा निष्पक्ष चुनाव सम्पन्न गर्ने प्रयासमा यी दुवै अवस्था घातक सिद्ध हुन सक्छन् ।
भनिन्छ, रिसमा कसैले वेद पढ्दैन । हामीले चुनावी क्रममा मुख्यत रिसकै कारण मुठभेड सिर्जना हुने गरेको तथ्यलाई बिर्सिन मिल्दैन । प्रतिद्वन्द्वीले गलत काम गरेमा त्यसविरुद्ध निर्वाचन आयोग र सम्बद्ध पक्षमा उजुरी हाल्ने स्वतन्त्रता छँदै छ । हामीले चुनावी क्रममा मुख्यत रिसकै कारण मुठभेड सिर्जना हुने गरेको तथ्यलाई बिर्सिन मिल्दैन । प्रतिद्वन्द्वीले गलत काम गरेमा त्यसविरुद्ध निर्वाचन आयोग र सम्बद्ध पक्षमा उजुरी हाल्ने स्वतन्त्रता छँदै छ । खटिएका निर्वाचन अधिकृतले पनि अनियमिता विरुद्ध आफूसमक्ष आएका उजुरी र गुनासोलाई बेवास्ता गरी जेनतेन निर्वाचन भइदिए हुन्थ्यो भन्ने सोच राख्न हुँदैन । आवश्यक पर्दा सुरक्षाकर्मीको सहयोग लिई निर्वाचनलाई मर्यादित बनाउन आवश्यक पर्ने सबै पहल लिनु पर्छ । भयपूर्ण वातावरणमा वा धाँधली सहितको निर्वाचन प्रक्रिया अघि बढ्न दिनुभन्दा निर्वाचन अधिकृतले सकेसम्म स्वच्छ निर्वाचन गराउने र नसके त्यस्तो चुनावलाई स्थगित गर्ने हिम्मत राख्नु पर्छ । सम्बद्ध दल र उम्मेदवारले निर्वाचन अधिकृतको यस्तो पहल र निर्णयको सम्मान गर्नु पर्छ र स्थितिलाई बिग्रिन दिन हुँदैन । सम्बद्ध सबै पक्षबाट आआफ्नो भूमिका निर्वाह गरेको अवस्थामा निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सकिने कुरामा ढुक्क हुन सकिन्छ ।