• १७ फागुन २०८२, आइतबार

मतदाताको अग्निपरीक्षा

blog

प्रतिनिधि सभा सदस्य निर्वाचन सन्निकट छ । मत खसाल्न वा पात्र बदल्नकै लागि मात्रै पनि निर्वाचन हुन लागेको होइन । राजनीतिक दलको नागरिकसँग टुटेको सामाजिक सम्झौता, बिग्रँदो सार्वजनिक विश्वास र अन्तर्राष्ट्रिय छवि पुनस्र्थापित गर्न निर्वाचन हुँदै छ । नागरिकले आफूमाथि शासन गर्न दललाई दिएको विश्वासको दुरुपयोग र सेवा प्रवाहमा जवाफदेहिता नहुँदा निर्वाचन छिट्टै आयो । 

जुन परिस्थितिमा निर्वाचन घोषणा भयो, यो दलीय व्यवस्थाका लागि दुर्लभ अवसर हो । यो अवसर सदुपयोग गर्न बिग्रँदो अन्तर्राष्ट्रिय छवि सुधार्न, राष्ट्रिय शक्तिलाई ऐक्यबद्ध गरी मुलुकलाई सही दिशा दिन, सामाजिक सद्भाव बलियो बनाउन र नागरिकप्रति जवाफदेही बन्न सक्ने पात्र छनोट गर्नु विवेकशील नागरिकको कर्तव्य हो । यो निर्वाचनमा कसैको इसारामा बरालिने, उत्तेजित हुने र सामाजिक सञ्जालको भरमा निर्णय लिएर विवेक बन्धक राख्ने छुट नागरिकलाई छैन । आफ्नो भविष्य आफूले मतदान गर्ने दल वा व्यक्तिको विवेकबाट चल्छ भन्ने पूर्वज्ञान मतदातामा हुनै पर्छ । विगतमा यही ज्ञान नहुँदा नागरिकले धेरै दुःख भोग्नु प¥यो । क्षणिक आवेगमा मतदान गरियो भने हामीसँग अब पछुताउने समय पनि बाँकी रहने छैन ।

राजनीतिक दलले विश्वास गुमाएका कारण निर्वाचन हुँदै छैन । शासकीय र नेतृत्व तहमा बस्ने व्यक्तिको कार्यशैलीका कारण गुमेको सार्वजनिक विश्वास पुनस्र्थापित गर्न निर्वाचन हुँदै छ । सार्वजनिक विश्वास नेतृत्व तहमा बस्ने व्यक्तिको सबैभन्दा ठुलो सम्पत्ति हो । द्रव्यले त्यसलाई फर्काउन सक्दैन । मतदान गर्नुअघि मतदाताले यो विषयमा चनाखो हुनु पर्छ । मौन अवधि दुरुपयोग हुँदै आएको हाम्रो लामो अनुभव छ । आशा गरौँ, यो निर्वाचनमा यो परिस्थिति निम्तिने छैन ।

अघिल्ला निर्वाचनमा जस्तो फागुन २१ गते हुने निर्वाचनमा पनि सिद्धान्तको राजनीतिले ठाउँ पाएको छैन । व्यक्ति हाबी भएको छ । व्यक्ति हाबी हुने निर्वाचन लोकतन्त्रको आत्मा बन्न सक्दैन । प्रियतावाद यसरी हाबी भयो कि सिद्धान्त र भावी कार्यदिशा आवश्यक नै ठानिएन । जनविश्वास सैद्धान्तिक निष्ठा, नागरिकप्रतिको जवाफदेहिता र समर्पणले आर्जन गर्ने हो । दलको सिद्धान्त पढ्नकै लागि मात्रै नभई, व्यवहारमा उतार्नका लागि बनाइएको हुन्छ । आआफ्नो दलको सिद्धान्तबमोजिमको चरित्र निर्वाचनमा प्रदर्शन भइरहेको छैन । सिद्धान्तनिष्ठ दल पनि प्रियतावादको पछि लाग्न बाध्य छन् । सिद्धान्तलाई बाहिर राखेर निश्चित पात्र र प्रवृत्तिको पछि लागेर मत माग्नु सुखद सन्देश होइन ।

व्यक्तिभन्दा माथि दल र दलभन्दा माथि मातृभूमि भन्ने सिद्धान्तले निर्वाचनमा आकर्षण थप्ने हो । मातृभूमि र दलभन्दा व्यक्ति हाबी भइरहेको छ । फलानो व्यक्तिलाई जिताउनु पर्छ/हराउनु पर्छ भन्ने जबर्जस्त तर्कले लोकतन्त्रको आत्मरक्षा हुँदैन । नागरिकलाई विवेक प्रयोग गर्न दिने वातावरण मात्रै बनाइदिने हो भने उसले सजाय दिनुपर्ने पात्रलाई पुरस्कृत गर्दैन । नागरिकले व्यक्ति हेरेर मतदान गर्ने परम्परा अन्त्य गर्नु पर्छ । दल मात्रै पनि हेर्नु हुन्न, मुलुकको भविष्य र नागरिक सुरक्षालाई केन्द्रमा राख्नु पर्छ । यसका लागि समयसापेक्ष नीति र भावी कार्यक्रम पनि चाहिन्छ । 

सबै शक्तिलाई ऐक्यबद्ध गर्ने, युवालाई विषयको बोध गराउने, शक्ति सञ्चय गर्ने, नागरिकको चारित्रिक र भौतिक समृद्धिका लागि नयाँ योजना बनाउने र सिद्धान्तप्रति सजग रहेर समाजमा आफ्नो सिद्धान्तको जरो गाड्ने काम गरियो भने जुनसुकै दललाई पनि नागरिकको साथ र समर्थन प्राप्त हुन्छ । यो निर्वाचनमा यो विषय पूर्णरूपमा ओझेलमा परेको छ । कतिपय दलले विभिन्न शीर्षकमा आआफ्नो प्रतिज्ञा गरे पनि निर्वाचनमा प्रियतावाद नै हाबी छ । मूल विषय निर्वाचन अप्ठेरो परिस्थितिको उपज भएकाले यसको सफलतामा मुलुकको भविष्य निर्भर हुनेछ ।

अप्ठेरो परिस्थितिमा एक हुने हाम्रो संस्कार नै हो । त्यो संस्कार हामीले नै जोगाउनु पर्छ, अरूले आएर जोगाइदिँदैन । लोकतन्त्र वा गणतन्त्र जे भनिए पनि कठोर सङ्घर्षकै उपज हो । यसमा तलमाथि हुँदा ठुलो मूल्य चुकाउनु पर्छ । कतिपय व्यक्ति निर्वाचन हुन सक्दैन भनेर भ्रम फैलाइरहेका छन्, यो कमजोर मानसिकताको उपज हो । अहिले निर्वाचन भएन भने के हुन्छ ? यो प्रश्नको उत्तर निर्वाचन हुन सक्दैन भन्नेहरूसँग छैन । अस्थिरतामा खेल्नेहरूलाई निर्वाचनले स्थिरतामा लैजान्छ भन्ने चिन्ता हुनु स्वाभाविक हुन्छ । समावेशी शासन व्यवस्था परिवर्तन गरेर अन्य व्यवस्था ल्याउन अब सोचे जस्तो सजिलो छैन । शून्यमा झरेर फेरि माथि उठ्न कठिन हुन्छ । 

१० वर्षसम्म सशस्त्र सङ्घर्ष गर्नेहरूले पनि भन्थे, ‘ध्वंस गरिसकेर निर्माण थाल्ने हो । परिवर्तन बन्दुकबाट आउँछ, मतपेटिकाबाट होइन ।’ आखिर त्यसको परिणाम ? माओवादीको नामको दल नै विसर्जन भयो । निर्वाचनको विकल्प निर्वाचन नै हो । अब कसरी मिलेर अघि बढ्ने र समाज रूपान्तरण गर्ने भन्ने एकसूत्रीय अभियानमा जोडिनु पर्छ सबै शक्ति । समस्या समाधान गरेर निर्वाचन होइन, निर्वाचन गरेर समस्याको समाधान खोज्ने हो ।

नेता त्याग, तपस्या, सङ्घर्ष र बलिदानले बन्ने हो । त्यस्तो नेता नागरिकप्रति जवाफदेही हुन्छ, जसले कानुन बनाएर विधि र प्रक्रियापूर्वक समाज बदल्ने राजनीति गर्छ । आज सामाजिक सञ्जालले नेता बनाएको छ । जसले आफूलाई नै चिनेको छैन, उही नेता भएर हिँडेको छ । आफैँलाई नचिन्ने नेताले मुलुक, माटो र भूमि कसरी चिन्छ ? त्यसले मत दिनुअघि नेता चिनौँ । वास्तविक नेता नागरिकप्रति जवाफदेही बन्छ । चुनाव जित्नु मात्रै सबैथोक होइन, जनविश्वास आर्जन गर्नु महत्वपूर्ण सफलता हो । त्यसैले पनि फागुन २१ महìवपूर्ण दिन हो ।

एउटै व्यक्ति पुराना दलमा भए बेठिक र नयाँमा गए ठिक भन्ने भाष्य पनि सिर्जना भएको छ । पुरानो दलको मान्छे नयाँ दलमा गए सबैथोक हुन्छ र ? नागरिकले मान्छे नयाँ खोजेको होइन, सही विचार र नीति बोकेको दल खोजेको हो । मतदान गर्नुअघि यसको पनि ख्याल गर्नु पर्छ । आवेगमा मतदान गरिए पछुताउनुपर्ने छ । 

सन् २०१६ देखि उत्तर वैचारिकी युग चलिरहेको छ संसारभर । यो युगले समाजमा चल्दै आएको सामाजिक र परम्परागत मूल्यमान्यतालाई अविश्वास गर्छ । निष्ठा र सिद्धान्तलाई गौण ठान्छ । तथ्यभन्दा भावना र विश्वासको पक्षमा वकालत गर्छ । विचारको प्रभाव हुन छाडेपछि व्यक्तिको प्रभाव र दबदबा बढ्ने भयो, जसले देशलाई अनिश्चिततातिर लैजान पनि सक्छ । योग्य र सक्षम व्यक्ति भयो भने मुलुक विकासको मार्गमा अघि बढ्न पनि सक्छ । 

यो युग नेपालमा भर्खर आइपुगेको छ । चुनावमा सिद्धान्तभन्दा व्यक्ति नै हाबी भइरहेको छ । सिद्धान्त हाबी हुँदा सिद्धान्तले समाज डो¥याउँथ्यो, सिद्धान्त खराब भए सच्याउन सकिन्थ्यो । व्यक्तिको भूमिका बढेपछि जोखिम पनि त्यत्तिकै मात्रामा बढ्छ । संस्था सुध्रियो भने सबैथोक ठिक हुन्थ्यो । व्यक्ति हाबी हुँदा ऊ असल भयो भने त्यसले राम्रो पनि हुन सक्छ । नराम्रो भयो भने जोखिम बढी हुन्छ । नेपालको चुनावी राजनीति जसरी अघि बढिरहेको छ, त्यसले जोखिम पनि उत्तिकै बढाइरहेको छ । जोखिम कम गराउन अवसरको सही सदुपयोग गर्नु पर्छ । आफूले निर्वाचित गर्ने व्यक्तिका बारेमा धेरै पटक सोचेर मात्रै मतदान गर्नु पर्छ । आफूले छानेको व्यक्तिले कतै भोलि आफैँमाथि धोका त दिँदै छैन ? मतदान गर्नुअघि १० पटक सोच्नु पर्छ, ताकि पछि पछुताउन नपरोस् । मतदाताको अग्नि परीक्षा यहीँनेर हुन्छ । 

सामाजिक सञ्जालले लोकप्रिय बनाएको व्यक्ति होइन धरातलीय यथार्थ बुझेको र बुझ्न सक्ने पात्रलाई मतदान गरौँ । दल र विचारलाई केन्द्रमा राखेर अघि बढ्ने पात्रलाई मतदान गरौँ । सिद्धान्त मन नपरे फेर्न सकिन्छ तर व्यक्ति सुध्रिएन भने मुलुक नै सङ्कटमा पर्छ । अहिले मतदान गरेर हिजोका झैँ पछि पछुताउनुपर्ने अवस्था नआओस् ।