गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १५ गते । नेपाली कांग्रेसका काठमाडौँ, भक्तपुर र ललितपुरका १५ उम्मेदवारको ‘काठमाडौँ उपत्यका विकास प्रतिज्ञापत्र’ सार्वजनिक गरिएको छ । काठमाडौँको बृहत्तर एकीकृत विकासका लागि १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा तीन वटै जिल्लालाई एउटै सहरका रूपमा लिई स्थानविशेषका विशिष्ट मौलिक पक्षलाई दृष्टिगत गरी एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयनको लक्ष्यसाथ कांग्रेस उम्मेदवारको प्रतिज्ञापत्र सार्वजनिक भएको हो ।
नेपाली कांग्रेसको ‘काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र’ मा विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रूपमा विकास गरिने उल्लेख छ । प्रतिज्ञापत्रमार्फत उपत्यकाको वहन क्षमताबमोजिम सहरको व्यवस्थापन गर्दै बृहत्तर सङ्घीय राजधानी पुनर्संरचना योजना कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने अवधारणा ल्याइएको छ ।
प्रतिज्ञापत्रमा उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकलयात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै केबल सिटीका रूपमा विकास गरिने उल्लेख छ । प्रतिज्ञापत्रमा भनिएको छ, “उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वजनिक तथा पुरातात्त्विक स्थल संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाई कार्यान्वयनमा ल्याइने छ ।”
कांग्रेसले काठमाडौँ उपत्यकाका नदी संरक्षण, शुद्धीकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने अवधारणा सार्वजनिक गरेको छ ।
साथै शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यावहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाई समग्र स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउँदै लगिने प्रस्ट पारिएको छ । कांग्रेस उम्मेदवारले उपत्यकाको एकीकृत भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै सहरी पूर्वाधार, भवनसंहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तथा विपत् व्यवस्थापनका लागि पूर्वचेतावनीसहितका कमान्ड सेन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिज्ञापत्रमा बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवालक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं आइटीसँग जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमान असमानता कम गरी उपत्यकावासीको जीवन सहज बनाउने, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याउने उल्लेख छ । प्रतिज्ञापत्रमा उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीमा आगामी ५० वर्षको जनसङ्ख्यालाई ध्यानमा राखेर बृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जल पुनर्भरण योजना तर्जुमा गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको बताउँदै सामूहिक रूपमै एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको जानकारी दिनुभयो । काठमाडौँका उम्मेदवार प्रबल थापा, कविर शर्मा, रमेश अर्याल, सचिन तिमल्सेना, प्रदीप पौडेल, कृष्णसबुज बानियाँ, प्रमोदहरि गुरागाईं, सपना राजभण्डारी, नानु बास्तोला, हिमाल कार्की, ललितपुरका उम्मेदवार सहमहामन्त्री उदयशमशेर राणा, प्रेमकृष्ण महर्जन, जितेन्द्रकुमार श्रेष्ठ र भक्तपुरका उम्मेदवार किरण न्यौपाने र कविर राणाले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
‘आचारसंहिता पालना प्राथमिकतामा’
यसैबिच कांग्रेसले निर्वाचन आचारसंहिता पालनालाई प्राथमिकता दिएको प्रस्ट पारेको छ । कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचारप्रसार समिति संयोजक देवराज चालिसेले बिहीबार पत्रकार सम्मेलन गरी आचारसंहितालाई अवमूल्यन एवं उल्लङ्घन गर्नु आधारभूत लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको प्रस्ट पार्नुभएको हो ।
प्रवक्ता चालिसेले आचारसंहिताविपरीतका घटनाबारे छानबिन गर्दै तत्काल कारबाही गर्ने सवालमा कुनै विलम्ब नगर्न निर्वाचन आयोगसमक्ष माग गर्नुभयो । उहाँले भन्नुभयो, “चुनाव प्रचारका व्रmममा आ–आफ्ना दलका नीति र मान्यता जनतासमक्ष राख्नु स्वाभाविक मानिन्छ । तर नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भावमाथि गहिरो प्रहार तथा व्यक्तिगत रूपमा घृणा र द्वेष फैलाउने कार्य सर्वथा अनुचित हो ।”
प्रवक्ता चालिसेले लोकतन्त्र हाम्रा आफ्नै वाणी, कर्म र आचरणले सुसंस्कृत हुँदै र यसतर्फ सबै दल र नागरिक समाज प्रेरित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत हो । जनताले भयरहित वातावरणमा आफ्नो मतदान गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ ।”
प्रवक्ता चालिसेले अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढङ्गले आममनोविज्ञानलाई प्रभावित पार्ने तत्व शिथिल बन्दै गएको बताउनुभयो । उहाँले बदलिँदो राजनीतिक सङ्क्रमण अन्त्य गरी मुलुकको थिति समाल्ने एवं लोकइच्छा अनुसार सम्मानित जीवन र समुन्नत राष्ट्रका लक्ष्य पूरा गर्न सक्ने दल कांग्रेस हो भन्ने यथार्थ अबका केही दिनमा जनमतबाटै प्रमाणित हुने बताउनुभयो ।