• १४ फागुन २०८२, बिहिबार

सल्यान कुमाख गाउँपालिकाका गुफामा विशेषज्ञ टोलीको अध्ययन

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १३ ।
कुमाख गाउँपालिका वडा नं. ४, ३ र २ मा अवस्थित सिद्ध, गनेश्वर र भुमेश्वर गुफामा विशेषज्ञ टोलीद्वारा अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न भएको छ।

भ्रमणमा चमेरो विज्ञ तथा मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान निर्देशनालयका निर्देशक डा. पुष्पराज आचार्य, सर्प तथा सर्पदंश विज्ञ डा. देवप्रसाद पाण्डे तथा क्रोएसियाली गुफा पारिस्थितिका विज्ञ डा. दुशान जेलिक सहभागी हुनुभएको थियो।

टोलीले गुफाभित्र पाइने चमेरो, सरीसृप तथा अन्य गुफा–आश्रित जीवजन्तुको अवस्थाबारे प्रारम्भिक अध्ययन गरेको जनाएको छ। अवलोकनपछि डा. आचार्यले गुफाहरू जैविक विविधताको दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै वैज्ञानिक अभिलेखीकरण र संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो। डा. पाण्डेले गुफा क्षेत्रमा पाइने जीवजन्तुको पहिचानले समुदायमा सचेतना बढ्ने धारणा राख्नुभयो भने डा. जेलिकले गुफाहरूको दिगो संरक्षण र पर्यापर्यटन विकासको सम्भावना औँल्याउनुभयो।

गाउँपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले विज्ञहरूको सुझावका आधारमा गुफाहरूको विस्तृत अध्ययन, संरक्षण रणनीति निर्माण तथा दिगो पर्यापर्यटन प्रवर्धनमा पहल गरिने जानकारी दिनुभयो। गाउँपालिकाले यस अध्ययनले स्थानीय प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।