नवीनराज कुइँकेल
लमजुङ, फागुन ३ गते । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका –७ करापुटारस्थित प्रसिद्ध धार्मिकस्थल इशानेश्वर महादेव मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
मन्दिरमा रहेको शिवलिङ्गमा बेलपत्र र दुध चढाउन, पूजा अर्चना गरी बत्ति बाल्न र दर्शन गर्न बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको हो । सन्तानेश्वर महादेवका नामले पूजा आराधना हुने इशानेश्वर महादेव मन्दिरमा विशेषगरी दुध चढाउन र बत्ति बाल्न भक्तजनहरु आउने गर्छन् । महाशिवरात्रि पर्वको अवसरमा यहाँ दुध चढाउने र ठाडो बत्ति बाल्ने चलन छ ।
इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चनागर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वासले मन्दिरमा ठुलो संख्यामा भक्तजनहरुको भिड लाग्ने गर्दछ । शिवको पूजा आराधना गर्न टाढा–टाढाका भक्तजन इशानेश्वरमा आएका छन् । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले शिवको पूजा अर्चना गर्दा लाभ मिल्ने विश्वासका साथ युवायुवतीदेखि वृद्धवृद्धा समेत करापुटार आइपुगेको स्थानीय मदन न्यौपानेले जानकारी दिनुभयो ।
भक्तजनको संख्या अघिल्लो बर्षको तुलनामा यसवर्ष वृद्धि भएको करापुटार क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लमजुङसँगै तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनदेखि काठमाडौँबाट पनि ठुलो संख्यामा भक्तजन आएका छन् । इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले भन्नुभयो, “मन्दिर दर्शन र पूजाआज गर्न जनप्रतिनिधि, उच्चपदस्थ कर्मचारी र सर्वसाधारण भक्तजनको घुइँचो लागेको छ ।”
लामो समयसम्म सन्तान नभएका सयौं दम्पतीहरु मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडो बत्ति बल्दा सन्तान लाभ हुने विश्वास गर्छन । रातभर उठेर र बसेर बत्ति बाल्नेहरु हजारौंका संख्यामा हुन्छन् । इशानेश्वर महादेवको बरदान पछि सन्तान लाभ भएपछि मन्दिरमा आएर महादेवलाई सन्तान देखाउनेहरु पनि थुप्रै भेटिन्छन् ।
विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पूरा हुने विश्वासले ठाडो बत्ति बाल्न धेरै भक्तजनहरु मन्दिरमा आउनेगरेको समितिका पूर्व अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनुभयो ।
ईशानेश्वर महादेवको उत्पत्ति एवं उत्खनन्का सन्दर्भमा हिन्दु धर्मग्रन्थका विभिन्न पुराणहरूमा यसको महिमा उल्लेख छ । हिन्दु धर्मशास्त्रको स्वस्थानी ब्रतकथामा उल्लेख गरिएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा महेन्द्रगिरिमा पुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको थियो ।
सोही महेन्द्रगिरि ईशानेश्वरको चिसंकुलाई भनिएको संस्कृतिविद्हरुको भनाइ छ । त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अर्धगामिनी, योगिनी, तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिको स्वरुपमा रहेको धार्मिक विश्वास छ ।
सोही रत्नभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाइ सेवा गर्नुभयो । लक्ष्मीले कात्तिक कृष्ण अमावश्याको दिन सम्पूर्ण लोकले पूजागरी सम्मान गरुन् भनी आशिष मागेको र ईश्वरी प्रसन्न भई तथास्तु भनेर बरदान दिएको धार्मिक किंवदन्तीमा पाइएको इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले बताउनुभयो । सोही समयदेखि ईशानेश्वर महादेवलाई तारकेश्वर महादेवको रुपमा पूजाआजा गरिँदै आएको छ ।