• ३ फागुन २०८२, आइतबार

दुई बैङ्करबिच कडा प्रतिस्पर्धा

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, फागुन ३ गते । फागुन २१ गतेको सङ्घीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा दुई जना बैङ्करबिच प्रतिस्पर्धा चलेको छ । यहाँको क्षेत्र नं. १ मा प्रतिस्पर्धामा उत्रिएका मुक्तिनाथ विकास बैङ्कका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चुनावी मैदानमा उत्रिनुभएको छ । सो बैङ्कका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नेपाली कांग्रेसबाट र सोही बैङ्कका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ नेकपा (एमाले) बाट प्रतिस्पर्धी रहनुभएको छ । ढकाल र गुरुङ एक समय एउटै बैङ्कको व्यावसायिक प्रवर्धनका लागि सहकार्य गर्दै आउनुभएको थियो । तर अहिले तीनै ढकाल र गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । 

ढकाल आँधीखोला गाउँपालिका–६ र गुरुङ पुतलीबजार नगरपालिका–९ बाट हुनुहुन्छ । यस क्षेत्रमा रास्वपा, नेकपासहित अन्य दल र स्वतन्त्र गरेर १२ जनामा प्रतिस्पर्धा रहेकोमा दुई बैङ्करबिचको प्रतिस्पर्धालाई यहाँका मतदाताले रोमाञ्चक ढङ्गले हेरिरहेका छन् ।

२०६३ सालमा मुक्तिनाथ विकास बैङ्क खोल्दा २९ जना संस्थापकमध्ये ढकाल र गुरुङ व्यावसायिक रूपमा एकसाथ रहेका थिए । ढकालले बैङ्क खुलेसँगै २०६३ सालबाट १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत र २०७६ बाट २०८० सालसम्म अध्यक्ष भएर काम गर्नुभयो । ढकाल मुक्तिनाथ विकास बैङ्कको अध्यक्ष छाडेसँगै मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षसमेत भएर काम गरेको अनुभव छ । ढकाल पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । 

त्यसै गरी  एमालेबाट उम्मेदवार बनेका गुरुङ मुक्तिनाथ विकास बैङ्कमा दुई वर्ष अध्यक्ष बन्नुभयो । बैङ्कको संस्थापक रहेका गुरुङ २०७२ देखि २०७४ सालसम्म अध्यक्ष बन्नुभएको हो  । उहाँले सङ्घीयतासँगै २०७४ मा यहाँको क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेपश्चात् बैङ्कको अध्यक्ष छाड्नुभयो । 

प्रदेश सभामा एक कार्यकाल अनुभव समाले पनि उहाँको सङ्घीय निर्वाचनका लागि यो पहिलो यात्रा हो । यो निर्वाचन क्षेत्रमा कांग्रेसका ढकाल, एमालेका गुरुङसँगै रास्वपाका डा. धनञ्जय रेग्मी र नेकपाका शैलेन्द्र घिमिरे प्रतिस्पर्धी रहेर आफ्ना चुनावी कार्यक्रमलाई अगाडि बढाइरहनुभएको छ ।