• २ फागुन २०८२, शनिबार

वैदेशिक रोजगार पीडितले पाए तीन करोड २४ लाख क्षतिपूर्ति

blog

आप्रवासी श्रोत केन्द्र लमजुङमा सुरक्षित बैदेशिक रोजगारसम्बन्धी जानकारी लिँदै युवाहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, फागुन २ गते ।
लमजुङका वैदेशिक रोजगार पीडितहरूले तीन करोड २४ लाख रुपियाँभन्दा बढी आर्थिक सहायता पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका पीडित र उनका परिवारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।

आप्रवासी स्रोत केन्द्र लमजुङले चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडितहरूको तीन करोड २४ लाख ४४ हजार सात सय ४१ रुपियाँ रकम कानुनी सहजीकरणमार्फत फिर्ता गराएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका ९६ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये ६५ वटा उजुरी फर्स्यौट भई पीडितले ठगी रकम फिर्ता पाएका हुन् ।

सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्र्तगत जिल्लास्थित आप्रवासी स्रोत केन्द्र बेँसीशहरको सहजीकरणमा वैदेशिक रोजगारीका क्रममा ठगिएका, मृत्य भएकाका परिवार तथा विभिन्न समस्यामा परेकालाई क्षतिपूर्ति वापतको रकम उपलब्ध गराइएको हो । गत वर्ष केन्द्रले दुई करोड ९४ लाख ८१ हजार तीन सय २४ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो । लमजुङमा २०८१ जेठ ८ गतेदेखि सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालनमा छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको छ ।

आप्रवासी स्रोत केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने क्रममा एजेन्ट तथा म्यानपावर कम्पनीबाट ठगिने घटना अझै पनि घट्न सकेको छैन । यस्ता घटनामा परेका पीडितलाई कानुनी परामर्श, उजुरी दर्ता, छलफल तथा सहजीकरण गरी रकम फिर्ता गराउने कार्य केन्द्रले गर्दै आएको जनाएको छ । केन्द्रले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना लिन, आधिकारिक प्रक्रियामार्फत मात्र विदेश जान तथा ठगीमा परेमा ढिला नगरी सम्बन्धित निकायमा उजुरी दिन सबैलाई आग्रह गरेको छ ।

परियोजनाअन्तर्गत विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा सही सूचना तथा जानकारी दिने, ठगीमा परेका कामदारहरुलाई निःशुल्क कानुनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।