सुलीकोट समाचारदाता
सुलीकोट, फागुन १ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखाको निर्वाचन क्षेत्र नं. २ मा पुराना र नयाँ दलबिच बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
प्रमुख राजनीतिक दलका उम्मेदवार अहिले आआफ्ना सङ्गठन विस्तार, घरदैलो अभियान र चुनावी सभामा सक्रिय देखिएका छन् । नयाँ दलले पनि जोडबलका साथ आफ्नो प्रचार अभियान सञ्चालन गरिरहेका छन् ।
यस क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मुख्य प्रधिस्पर्धीका रूपमा मैदानमा उत्रिएका छन् । विगतका निर्वाचनमा पार्टीको साङ्गठनिक अवस्था र २०७९ सालको सङ्घीय निर्वाचनको मतपरिणाम हेर्दा नेपाली कम्युनिस्ट पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (एमाले) चौथो भएका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गोरखामा मतदाताको मनोविज्ञान हेर्दा कसैको पनि सहजै जित हुने जस्तो देखिँदैन । यही कारण गोरखा–२ का मतदाताले चासोका साथ उम्मेदवारलाई हेरिरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले जनयुद्धपछि प्राप्त उपलब्धि, समानुपातिक न्याय र समावेशी सिद्धान्तलाई आफ्नो मूल एजेन्डा बनाएका छन् । जिल्लाका ११ पालिकामध्ये नौ पालिकामा नेपाली कम्युनिस्ट पार्टीले जितेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले विगतमा गरेको विकासनिर्माण, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका पहल र प्रतिफललाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । एमालेका उम्मेदवार मिलन गुरुङले सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्राथमिकता दिँदै बलियो सरकार निर्माणका लागि एमालेको जित अनिवार्र्य भएको बताउँदै भोट मागिरहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले पुराना दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक संस्कृतिको मागलाई आधार बनाएर मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् । सबै उम्मेदवारले युवा मतदाता र वैदेशिक रोजगारीबाट फर्किएका मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । गोरखा–२ मा ग्रामीण तथा अर्धसहरी क्षेत्रको मिश्रण रहेकाले मतदाताको चाहना पनि विविध खालको छ । विकास, रोजगारी, सुशासन आधारभूत सेवा नै मुख्य मुद्दा बनेका छन् । चार दलको कडा प्रतिस्पर्धाले गोरखा–२ को चुनावलाई थप रोचक बनाएको छ ।